स्थापना नहुँदै बाँकेको खजुरामा बन्ने भनिएको प्रदेश प्राविधिक विश्वविद्यालय संकटमा



लुम्बिनी प्रदेश सरकारले सबै विषयलाई एउटै छानोमा राख्नेगरि प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने तयारी गरिरहेको छ । यसका लागि अहिले धमाधम काम चलिरहेको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले जानकारी दिए । उनका अनुसार विश्वविद्यालय स्थापनाका लागि दाङ र कपिलवस्तुका विभिन्न स्थानमा जग्गा हेर्ने काम भइसकेको छ ।

कृष्ण ओली । कोहलपुर ।

लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ, ‘बाँकेस्थित खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालय स्थापना गरी कार्यान्वयनमा ल्याइने छ ।’ तर, उक्त विश्वविद्यालय स्थापना नहुँदै संकटमा पर्ने देखिएको छ । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक विश्वविद्यालय घोषणाको तयारी गरेसँगै प्रदेश प्राविधिक विश्वविद्यालय संकटमा परेको हो ।

अहिले लुम्बिनी प्रदेश सरकारले आफ्नै प्रादेशिक विश्वविद्यालय स्थापना गर्नेगरी काम थालेको छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । उक्त विषय सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएको छ । अहिले आएर सरकारले आफ्नै प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने भएपछि खजुरामा प्राविधिक विश्वविद्यालय स्थापना नहुँदै संकटमा पर्ने देखिएको छ ।

लुम्बिनी प्रदेश सरकारले सबै विषयलाई एउटै छानोमा राख्नेगरि प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने तयारी गरिरहेको छ । यसका लागि अहिले धमाधम काम चलिरहेको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले जानकारी दिए । उनका अनुसार विश्वविद्यालय स्थापनाको लागि दाङ र कपिलवस्तुका विभिन्न स्थानमा जग्गा हेर्ने काम भइसकेको छ ।

बाँकेको खजुरामा विश्वविद्यालय राख्न अनुपयुक्त देखिएकाले दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगन्जमा राख्ने गरी तयारी गरिएको उनले बताए । ‘खजुरामा विश्वविद्यालय राख्न अनुपयुक्त देखिएको छ,’ आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उपाध्यक्ष क्षेत्रीले भने, ‘दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगन्जमा राख्ने तयारी छ । जहाँ उपयुक्त हुन्छ त्यही राखिन्छ ।’

उनका अनुसार प्रदेश विश्वविद्यालय स्थापनाका लागि शिक्षा मन्त्रालयमा पटकपटक बैठक बसी काम अन्तिम चरणमा पुगिसकेको छ । जग्गा प्राप्तिका लागि कपिलवस्तुको बहादुरगन्जमा रहेको रामराज्य माविको २५ बिगाह जग्गा, बंगलाचुली गाउँपालिकाको पाँच सय रोपनी जग्गा र सांस्कृतिक विश्वविद्यालयको १३ सय बिगाहा जग्गाको अनुगमनसमेत गरिएको उनले बताए । ‘विभिन्न स्थानका जग्गाको अनुगमन गरिसकेका छौं,’ उपाध्यक्ष क्षेत्रीले भने, ‘सबै स्थानमा अनुगमनपश्चात अहिले छलफल चलिरहेको छ ।’

प्रदेश सरकारले अगाडि सारेको योजनाअनुसार खजुरामा मात्रै प्रदेश प्राविधिक विश्वविद्यालय बन्ने देखिँदैन । अब स्थापना हुने प्रदेश विश्वविद्यालयमा नै प्राविधिक विषयसमेत रहने भएकोले खजुरामा छुट्टै प्राविधिक विश्वविद्यालय नबन्ने संकेत देखिन्छ । योजना आयोगका उपाध्यक्ष क्षेत्रीे नयाँ करिकुलम र सोंचका साथ प्रदेश विश्वविद्यालय सञ्चालन गर्ने प्रदेश सरकारले योजना बनाइरहेको बताए । ‘नयाँ करिकुलम र सोंचका साथ विश्वविद्यालय सञ्चालन गर्ने योजना बनाइरहेका छौं,’ उनले मिसन टुडेसँग भने, ‘यसका लागि विश्वविद्यालय ऐन र नियमावली बनिसकेको छ । घोषणा भएपछि अन्य कामहरु अगाडि बढ्ने छन् ।’

प्राविधिक विश्वविद्यालय स्थापनाका लागि भनेर खजुरा गाउँपालिकामा रहेको एक सय बिगाहा जग्गा भोगचलन गर्ने सहमति भइसकेको छ । तत्कालीन लुम्बिनी सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले खजुरामा स्थलगत अवलोकन गरेर मन्त्रिपरिषद्बाट विश्वविद्यालय स्थापनाको निर्णयसमेत गराएका थिए ।

पछि लुम्बिनी प्रदेश सरकारले खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालय गर्ने भनेर नीति तथा कार्यक्रममा समावेश गरेर बजेट विनियोजन गरेको थियो । लुम्बिनी प्रदेश सरकारले खजुरामा स्थापना गर्ने प्राविधिक विश्वविद्यालयको लागि पहिलो वर्ष पाँच करोड र दोस्रो वर्ष सात करोड बजेट छुट्याइएको थियो । चालू आर्थिक वर्षमा १० करोड छुट्याइएको छ । तीनै वर्षमा विनियोजन गरेको रकम खर्च भने हुन सकेको छैन ।

यहाँका जनप्रतिनिधिहरुले समेत चासो नदिँदा यहाँबाट अन्यत्रै विश्वविद्यालय सार्ने गरी प्रदेश सरकारले काम गरिरहेको यहाँका स्थानीयहरुको भनाइ छ । सरकारले खजुरामा स्थापना गर्न थालेको प्राविधिक विश्वविद्यालय स्थापनामा यहाँका प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले सहयोग पु¥याउनु पथ्र्याे तर उनीहरुको कमजोर समन्वयकारी भूमिकाका कारण बाँकेले ठूलो उपलब्धि चुकाउनुपर्ने स्थिति आएको स्थानीयहरु बताउँछन् ।

विश्वविद्यालयको तयारीमा छौं
बामदेव क्षेत्री
उपाध्यक्ष, प्रदेश योजना आयोग

विश्वविद्यालय घोषणाको तयारीमा छौं । अहिले नियमावली कानुन सबै बनाएर घोषणा मात्रै गर्ने हो । अहिले हामीसँग जम्मा पाँच करोड मात्रै भएकोले भवन तथा अन्य संरचना बनाउने भन्ने कुरा हुँदैन । प्रदेश विश्वविद्यालय घोषणा भएपछि प्रशासनिक कामको लागि घर भाडामा लिएर काम अगाडि बढाउनु पर्ने हुन्छ । के पढाउने, कसरी पढाउनेलगायतका कुराहरु त्यहीबाट टुंगो लाग्छ ।

अहिले विश्वविद्यालयको प्रशासनिक भवन कहाँ बनाउने कुरा मात्र हो । भोलिका दिनमा एउटा विषय खजुरा, अर्को अर्घाखाँची, गुल्मीलगायतका स्थानमा समेत राखौंला । विश्वविद्यालयको प्रशासनिक भवन राख्ने ठाउँ कहाँ हुन्छ हेरिरहेका छौं । खजुरामा प्राविधिकको लागि मात्रै घोषणा गरिएको थियो । अब हुने विश्वविद्यालयमा सबै विषयहरु अटाउनेछन् ।

आन्दोलन गर्न तयार छौं
किस्मतकुमार कक्षपती
अध्यक्ष, खजुरा गाउँपालिका बाँके

प्रदेश प्राविधिक विश्वविद्यालय खजुराबाट अन्यत्र सार्ने तयारी गरेको सुनेका छौं । हामी त्यसको कडा प्रतिवाद गर्नेछौं । एक सय बिगाहा जग्गा हस्तान्तरणका लागि गाउँसभाबाट समेत अनुमोदन भइसकेको छ ।

सरकारले पूर्वाधारको सम्भाव्यता अध्ययन गरिसकेको स्थानलाई अनुपयुक्त भनिनु गलत हो । विश्वविद्यालय स्थापनाका लागि गाउँपालिकाबाट एक सय बिगाहा जग्गा कित्ताकाट गरी विश्वविद्यालयका लागि सिफारिस गरिसकेको छ ।

संकटमा पर्न दिन्नौं
आइपी खरेल
प्रदेशसभा सदस्य, लुम्बिनी प्रदेश

प्रदेश सरकारले खजुराबाट विश्वविद्यालय सार्न लागेको कुरा मिडियाबाट नै थाहा पाए । यस विषयमा हामीसँग कुनै परामर्शसमेत गरिएको छैन । अहिलेका मुख्यमन्त्री आफैँ सहभागी मन्त्रिपरिषद्को बैठकले खजुरामा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । कुनै पनि हालतमा खजुराबाट विश्वविद्यालय सार्न पाइँदैन र सार्न पनि दिइँदैन ।

नयाँ योजना भन्दैमा जसले जतिबेला जे मन लाग्यो त्यही गर्न पाइँदैन । एउटा कुरा के हो भने खजुराबाट विश्वविद्यालय सार्न पाइँदैन र सार्न पनि दिइँदैन ढुक्क हुँदा हुन्छ । केही दिनअघि मात्र मुख्यमन्त्रीसँग बसेर आएको हुँ ।

यस्तो कुरा सुनिएन । फेरि प्रदेश सरकारसँग कुरा हुन्छ । यस्तो अवस्थामा समेत विश्वविद्यालय अन्यत्र सारिए आन्दोलन गरिनेछ । सरकारले खजुराबाट अर्को स्थानमा विश्वविद्यालय सार्ने निर्णय नगरोस् । यस्तो गरिए हामी आन्दोलनमा उत्रिन बाध्य हुन्छौं ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १७ गते मंगलबार