संस्कृृति संरक्षणमा सिम्ताली समाज



कोहलपुर ।

सिम्ताली एकता समाज बाँके आफ्नो संस्कृति संरक्षणमा सक्रिय भएको छ । २०७२ सालमा स्थापना भएको समाजले स्थापनाकालदेखि साहित्य तथा कला संस्कृति संरक्षणमा सक्रिय हुँदै आएको हो । सिम्ताली संस्कृति संरक्षण र पुस्तान्त्रण गर्नको लागि बाँकेमा रहेका चारजना सिम्तालीहरुको सक्रियतामा समाजको स्थापना भएको थियो ।

समाजले बाँकेमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा विभिन्न नाच प्रस्तुत गर्दै आएको छ । यस्तै कोहलपुर नगरपालिकाको सहयोगमा समाजमा अहिलेको पुस्तालाई पुराना संस्कृति संरक्षणको लागि प्रशिक्षण तालिम सम्पन्न भएको छ । एकसाता सञ्चालन भएको साहित्य तथा कला संस्कृति संरक्षणमा नयाँ पुस्ताका युवा युवती सहभागी थिए ।

उनीहरुलाई सिम्ताली संस्कृति, विभिन्न नाच लगायतका विषयमा प्रशिक्षण गराइएको समाजका अध्यक्ष राजबहादुर मल्लले बताए ।

उनका अनुसार नयाँ पुस्तालाई सिम्ताली संस्कृति संरक्षणको बारेमा जिम्मेवार बनाउने र उनीहरुलाई नाच सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । तालिममा विद्यालय र कलेज स्तरमा अध्ययन गर्नेहरुलाई सहभागी गराएर पुराना संस्कृतिको जानकारी गराएको उनको भनाइ थियो । तालिमका प्रशिक्षक मानसिंह मल्लका अनुसार तालिममा नयाँ पुस्ताहरुले सक्रिय सहभागिता जनाएका थिए ।

उनले सिम्ताली संस्कृति पश्चिम क्षेत्रमा चर्चित रहेको बताए । सिंगारु नाच, लहरे, पञ्चेबाजा लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिइएको उनको भनाइ छ । ‘हाम्रो संस्कृति संरक्षण गर्न आवश्यक छ । नयाँ पुस्तालाई जानकारी दिने तालिमको उद्देश्य हो ।’ उनले भने । तालिमको अन्तिम दिन शनिबार समापन सत्र समेत सम्पन्न भएको थियो ।

समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक नारायणी वलीले स्थानीय सरकार संस्कृति संरक्षणका लागि सक्रिय रहेको बताइन् । उनले विभिन्न जाति तथा समुदायहरुका संस्कृति संरक्षण आवश्यक रहेको समेत बताइन् । उनले भनिन्, ‘संस्कृति हाम्रो पुरानो पुस्ताको जनजीवन समेत हो । यी हाम्रा गहना समेत हुन् ।

यस्ता संस्कृति संरक्षणको लागि सबैको दायित्व हुन्छ ।’ सिम्ताली एकता समाज र नगरपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको हो । समापनको सत्रमा सिंगारु नाच प्रस्तुत गर्नुका साथै प्रमाणपत्र वितरण गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १५ गते आइतबार