कीभमा मिसाइल आक्रमण हुने अनुमान, कैयौं युक्रेनी बिजुली- पानीबाट वञ्चित



युक्रेनमा जारी आक्रमणमा २ सय ४० सर्वसाधारण हताहत र ६४ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। आक्रमणका कारण मानवीयसँगै यहाँका घर र संरचनाहरुमा ठूलो क्षति पुगेको छ। कैयौं मानिस बिजुली र पानीबाट वञ्चित भएका छन्।

रुसले चौथो दिन युक्रेनका धेरै सहरमा आक्रमण जारी राखेको छ। जसका कारण लाखौं नागरिक विस्थापित भएका छन्।

संयुक्त राष्ट्र संघले १ लाख ६० हजारभन्दा धेरै युक्रेनीले आफ्नो घर छाडेको जनाएको छ। अन्तर्राष्ट्रिय सीमा पार गर्दै देश छोड्नेहरुको लर्को लागेको छ। धेरैजसो पैदलै अनिश्चित गन्तव्यतिर लम्किइरहेका छन्।

रुसी आक्रमणले ठूलो शरणार्थी संकट निम्त्याउन सक्ने युक्रेनी सरकारले अनुमान गरेको छ। यो आक्रमणले ५० लाख शरणार्थी निम्त्याउन सक्ने बताइएको छ।

युक्रेनको राजधानी कीभमा पटकपटक हवाई आक्रमणको साइरन बजिरहेको छ। केही दिनमै कीभमा मिसाइल आक्रमण हुन सक्ने अनुमान गरिएको छ।

रुसी सेनाहरू कीभ नजिकै प्रवेश गरेकाले सहरमा कर्फ्यू घोषणा गरिएको छ। कीभमा जारी कर्फ्यु सोमबार बिहानसम्म जारी रहनेछ ।

यसैबीच, युक्रेनलाई साथ दिँदै पश्चिमा देशहरुले हतियार उपलब्ध गराउन थालेका छन्। जर्मनीले एक हजार एन्टी-ट्यांक हतियार र ५ सय मिसाइल पठाएको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकाले पनि एन्टी-ट्यांक मिसाइल र एन्टी एयरक्राफ्ट सिस्टमसमेत ३५० मिलियन डलरको हतियार युक्रेन पठाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १५ गते आइतबार