खजुराको फोरलेन सडकः निर्माण सम्पन्न नहुँदै भत्कियो



म्याद सकिन डेढ महिनामात्रै बाँकी रहदाँ ठेकेदार भने काम बन्द गरेर रकम भुक्तानीको प्रक्रिया मिलाउन काठमाडौं पुगेका छन् ।

अहिलेसम्म गरेको कामको भुक्तानी लिनको लागि म्याद थपको प्रक्रिया पु¥याउन ठेकेदार काठमाडौं पुगेका हुन् । फिल्डमा काम नहुँदा डेढ महिनाभित्र काम सकिने सम्भावना कम रहेको छ ।

खजुरा ।

नेपालगन्ज गुलरिया सडक खण्डको खजुरामा फोरलेन सडक निर्माण सम्पन्न नहुँदैं भत्किएको छ । खजुराको धनौली प्रहरी चौकीदेखि खजुरा १ नम्बरसम्मको सडकमा गरिएको फोरलेनको बेस पिच उप्किएको हो । करिब डेढ महिनाअघि मात्र गरेको पिच उप्किएर धुँलोले हैरान बनाएपछि स्थानीय र व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।

यो क्षेत्रको करिब १८ सय मिटर फोरलेन सडक निर्माणको ठेक्का गजुरमुखी कन्ट्रक्सनले पाएको थियो । सडक निर्माणको क्रममा निर्माण कम्पनीले गुणस्तरहीन काम गर्दा निर्माण सम्पन्न नहुँदै सडक भत्किन सुरु गरेको स्थानीयहरु बताउँछन् । फोरलेन सडकमा निर्माणको केही दिनमै खाल्डाखुल्डी पर्न थालेका थिए ।

निर्माणकै क्रममा रहेको सडक पिच भएको केही दिनमै भत्किन थालेको स्थानीय युवा यम दाहाल बताउँछन् । ‘निर्माण कम्पनीको लापरवाहीका कारण सडकमा पिच गरेको केही दिनमै धुलो उड्न थालिसकेको थियो’ उनले भने, ‘केही दिनसम्म त धुलोले व्यापार व्यवसाय समेत गर्न दिएन । ठेकेदारले राम्रोसँग काम नगर्दा हामीले सास्ती पाइरहेका छौं ।’

खजुरा बजार क्षेत्रमै निर्माण भइरहेको फोरलेन सडक सम्पन्न नहुँदैं भत्किन थालेपछि स्थानीयहरु समेत आक्रोशित छन् । उनीहरुले बाँकी रहेको सडकको काम सुचारु गर्नुपर्ने पिच भत्किएकोले फेरी गुणस्तरीय पिच गर्नुपर्ने लगाएतका माग राखेर चक्काजाम गरेका थिए । धुलोका कारण स्वास्थ्य तथा व्यवसायमा असर र खाल्डाका कारण दुर्घटना बढेको स्थानीय दुर्गा खड्का बताउँछन् । ‘आन्दोलनमा उत्रिएपछि निर्माण कम्पनी आएर काम गरेकोजस्तो गरेको थियो’ उनले भने, ‘अहिले फेरी काम सुस्त भइसकेको छ ।

नियमित पानी नहाल्दा फेरी धुलोले सास्ती दिन थालिसकेको छ ।’ फोरलेन सडक खजुराको विकाससँग जोडिएकोले निर्माणको काम गुणस्तरीय हुनुपर्ने उनी बताउँछन् । डीडीएसटी क्वालिटीको सडक पिच गर्ने सम्झौता भएपनि हालसम्म निर्माण कम्पनीले भने दुई तिहाई भाग मात्रै एक पटक पिच गरेको छ ।

अझै एक भाग पिच हुन बाँकी रहेको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होम बहादुर एसीले बताए । खजुरा एक नम्बर चोकबाट पूर्व करिब २ सय मिटर सडकको बिच भागमा मेरियम समेत निर्माण भएको छैन । डीडीएसटीको क्वालीटी अनुसार पिच गरेको एक महिनापछि दोस्रो पटक त्यसैमाथि पिच गर्नुपर्ने बताइएको छ । पहिलेको पिच नै भत्किएपछि अहिले समस्या भएको बताइन्छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जले २०७४ चैत २९ गते गजुरमुखी कन्ट्रक्सनसँग २१ करोड ४९ लाख ३३ हजार ५ सय ७३ रुपैयाँ ५१ पैसामा निर्माणको सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७७ असोज २७ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भएपछि काम सम्पन्न नभएपछि २०७७ चैत ३० गते सम्पन्न गर्नेगरी ६ महिना म्याद थपिएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

सो अवधिमा समेत काम सम्पन्न नभएपछि सरकारले गत भदौमा सबै ठेक्काको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सडक निर्माणको काम चैत्रभित्र सक्नुपर्नेछ । यसबारे बुझ्नको लागि निर्माण कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

तापक्रम नपुग्दा समस्या

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले तापक्रम नपुगेका कारण पिच गर्न समस्या भएको बताएका छन् । पिच गर्नको लागि चाहिने तापक्रम नपुगेका कारण निर्माण कम्पनीलाई दवाव दिन नसकिएको उनले बताए ।

‘अहिले पिच गर्नको लागि तापक्रम पुग्दैन । त्यसैले निर्माण कम्पनीलाई समेत दवाव समस्या छ’ उनले भने, ‘तापक्रम पुग्ने वित्तिकै पिचको काम थाल्न निर्देशन दिन्छौं ।’

सडकमा धुलो उडेको गुनासो आएकोले पुस महिनामा तापक्रम नपुग्दा पिच गर्न अनुमति दिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख एसीले बताए ।

‘पुसमा चाँही धुलो उडेको गुनासो धेरै आएपछि हामीले नै पिच गर्न अनुमती दिएका हौं’ उनले भने, ‘त्यसैले पिच गरेको सडकमा धेरै समस्या देखियो । अहिले त्यस्तो हुन दिने पक्षमा हामी छैनौं ।’

काम छोडेर काठमाडौंमा ठेकेदार

दोस्रोपटक थपिएको म्यादको प्रक्रिया पु¥याउनको लागि गजुरमुखी कन्ट्रक्सनका प्रतिनिधि काम छोडेर काठमाडौं पुगेका छन् ।

अहिलेसम्म गरेको कामको भुक्तानी लिनको लागि म्याद थपको प्रक्रिया पु¥याउन ठेकेदार काठमाडौं पुगेका हुन् । भुक्तानी लिने प्रक्रिया पु¥याउनको लागि काम नै बन्द गरेर ठेकेदार काठमाडौं गएको सडक डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर निरजल श्रेष्ठले जानकारी दिए ।

‘ठेकेदारलाई पैसा एकदम आवश्यक प¥यो । त्यसकारण ठेक्काको म्याद दोस्रो पटक थमाएर भुक्तानी लिनका लागि ठेकेदार काठमाडौं गए’ उनले भने, ‘काठमाण्डौबाट फर्किएपछि बाँकी काम सम्पन्न हुन्छ ।’

दोस्रोपटक थपिएको म्यादअनुसार काम सम्पन्न गर्न डेढ महिनामात्रै बाँकी रहेको छ । ठेकेदार भने फिल्डमा नभएर रकम माग्दै काठमाण्डौं पुगेको छ । नेपालगन्जबाट नै काम गरेको रकमको भुक्तानी पाइने भएपनि प्रक्रिया नपुगेकोले ठेकेदार काठमाण्डौं गएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १५ गते आइतबार