पल शाहविरुद्ध समीक्षा अधिकारीले दिइन् प्रहरीमा जाहेरी



काठमाडौं ।

‘रियल हिरो’ को उपमा पाएका नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध जाहेरी आज दर्ता गरेकी हुन् ।

नायक पलले एउटा कुराकानीमा समीक्षासँग आफ्नो शारीरिक सम्बन्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । समीक्षा उमेरले १७ वर्षकी छिन् ।

नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरीरबालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ । यसमा कडा सजायको व्यवस्था छ । पल र समीक्षाबीचको सम्बन्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेका छन् । यद्यपि, अझै पनि पलले स्वीकार गरेका छैनन् । उनले हिजो सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका थिए ।

सार्वजनिक भएको अडिओ नै ‘फेक’ हुन सक्ने उनको दाबी छ । यस्तै, समीक्षाले एक महिला अधिकारकर्मीसँगको कुराकानीमा पलसँगको सम्बन्धबारे बयान गरेको अडिओ सार्वजनिक भएको थियो ।

पलले आफ्ना पुरुष साथीहरूले समीक्षालाई उक्साएको आरोप लगाएका छन् । पलको यस्तो आरोपपछि उनीमाथि जाहेरी दिने निष्कर्षमा समीक्षा पुगेकी हुन् । हिजो काठमाडौंबाट दिदी-भिनाजुसहित उनी तनहुँको दमौली पुगेकी थिइन् । राति नै जाहेरी दिने तयारी गरिए पनि प्रहरीले उनको बुबाआमाको पनि हस्ताक्षर चाहिने भनेपछि हिजो जाहेरी दर्ता भएन ।

आज बुबाआमासमेत आएर जाहेरीमा सनाखत गरेको प्रहरी स्रोतले बतायो । जाहेरीमा समीक्षाले आफूलाई शाहले ‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ-फकाइ गर्दै सम्बन्ध राखेको’ उल्लेख गरेकी छन् ।

कानूनबमोजिम शाहलाई कडा सजायको माग समीक्षाले गरेकी छन् । उनको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको छ । यस विषयमा तनहुँ प्रहरीले औपचारिक जानकारी दिएको छैन । जाहेरी दर्ता गर्नुअघि प्रहरीले समीक्षाको अडिओरभिडिओ बयानसमेत लिएको थियो ।

यसअघि पनि समीक्षाले पलविरुद्ध जाहेरी दिन कदम चालेकी थिइन् । केहीदिन अगाडि उनी कास्की प्रहरीमा जाहेरी लिएर पुगेकी थिइन् । तर, प्रहरीले अन्तिमपटक घटना जहाँ भएको हो, त्यहीँ उजुरी गर्नुपर्ने बताएको थियो । यसबीचमा पलले समीक्षालाई बिहेको आश्वासन दिएर थामथुम पारेपछि उनी रोकिएकी थिइन् ।

अपराध संहिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई करणी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ । यस्तो अपराधमा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ । समीक्षाले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन् ।

त्यसैले पललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना देखिएको छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ११ गते बुधबार