नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आजदेखि आवेदन खुला



काठमाडौं ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो।

लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये शुन्य दशमलव पाँच प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।आइपीओमा आवेदनका लागि छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म समयअवधि रहेको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ छ। सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ११ गते बुधबार