बाघले मान्छे आक्रमण गर्नुको कारण: ‘बासस्थान र आहार अभाव’



आक्रमणका कारण बाघको आहार र बासस्थानसँग पनि जोडिएका छन् । पहिलो कुरा अहिले बाघलाई आहाराको कमी भएको हुन सक्छ भने बासस्थानसमेत अभाव भएको हुन सक्ने आंकलन गरिन्छ ।

विज्ञहरुका अनुसार समूहमा कमजोर ठहरिएका, बुढो वा बिरामी भएका बाघहरू प्रायः मानिस भएतिर आकर्षित हुन्छन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

बाघ प्राकृतिकरुपमा लजालु स्वभावको हुन्छ । तिनीहरु प्रायः रात परेपछि सक्रिय र आक्रमक हुन्छन् । दिउँसोको समयमा बासस्थानबाट बाहिर निस्कँदैनन् ।

बाघ विज्ञ डा. चिरञ्जीवीप्रसाद पोखरेल भन्छन्, ‘मानिस वा खतराको अवस्था देख्दा निकास खोज्छन् । बाघ त्यस्तो अवस्था आफैँ बाटो छोडेर हिँड्ने जनावर हो । अरु जीवबाट लुक्न खोज्छ ।’ उनका अनुसार बाघले मानिसलाई गर्ने आक्रमण ‘प्रायः दुर्घटनात्मक’ हुन्छन् ।

तर, बाँकेको राप्तीसोनारी क्षेत्रमा बाघले धेरैजसो दिउँसोको समयमा आक्रमण गरिरहेको छ । बिहान १० बजेदेखि साउँसो ३ बजेको समयमा बाघले आक्रमण गरेको देखिन्छ । बाँकेमा बाघकै आक्रमणबाट भदौ मसान्तयता पाँचजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा परिचय नखुलेका एक भारतीय नागरिकसहित, राप्तीसोनारी–६ की चाँदनी थारु, लिला विष्ट छन् ।

शनिबार मात्रै फत्तेपुरका ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भयो । यसअघि नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुरुवाका लखन गडरियाको मृत्यु भयो । मृत्यु हुनेमा जंगल क्षेत्रमा दैनिक उपभोग्य वस्तु, पशुचौपायको आहारा ल्याउन तथा चराउन गएका व्यक्ति छन् ।

बाँके राष्ट्रिय निकुञ्ज बाघ गाउँ नपसेको दाबी गर्छ । मानिसहरु आवश्यकता पूर्तिका लागि जंगलमा गएका बेला बाघको आहारा बनिरहेका
छन् । यसले वन्यजन्तु–मानव द्वन्द्व मात्रै सिर्जना गरेको छैन, मानवको अकालमा ज्यान गइरहेको पनि छ । मध्यवर्ती क्षेत्रमा त्रास झनझन बढ्दै गएको छ ।

आइतबार पनि दिउँसै बाघको आक्रमणमा परेका फत्तेपुरकै वकिल गद्दी बाँच्न सफल भए । यसअघि पनि राप्तीसोनारीकै दुर्गा थारु बाघको आक्रमणमा परेर बाँच्न सफल भइन् । राप्तीसोनारीका मध्यवर्ती क्षेत्रमा मानिसहरु कोही रुखमा चढेर र त कोही भागेर मुस्किलले ज्यान जोगाइरहेका छन् । आक्रमणका कारण बाघको आहार र बासस्थानसँग पनि जोडिएका छन् ।

पहिलो कुरा अहिले बाघलाई आहाराको कमी भएको हुन सक्छ भने बासस्थानसमेत अभाव भएको हुन सक्ने आंकलन गरिन्छ । विज्ञहरुका अनुसार समूहमा कमजोर ठहरिएका, बुढो वा बिरामी भएका बाघहरू प्रायः मानिस भएतिर आकर्षित हुन्छन् । राप्तीसोनारी क्षेत्रमा यीमध्येका बाघले मान्छेलाई आक्रमण गरिरहेका हुन सक्छन् । तर अहिलेसम्म बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघको पहिचान गर्न नसक्दा अकालमा मानिसको ज्यान गइरहेको छ ।

निकुञ्जले नियन्त्रणमा समेत लिन नसक्दा नरभंछी बाघ बेप्रवाह मानिसको काल बनिरहेको छ । निकुञ्जका प्रमुख श्यामकुमार शाह अझै नियन्त्रणको प्रयास भइरहेको बताउँछन् । तर, विज्ञहरु नियन्त्रणमा लिनुले आक्रमणको सम्भावना न्यून नहुने बताउँछन् । अध्ययनले समेत के देखाएको छ भने, ९५ प्रतिशत बाघहरू मानिसको सम्पर्कमा नआउने स्वभावका हुन्छन् । बाँकी पाँच प्रतिशतले मानिसलाई समस्या सिर्जना गर्ने सम्भावना हुन्छ । सरकारी पक्ष मानिसको लागि खतरा हुन सक्ने पाँच प्रतिशत बाघसमेत व्यवस्थापन गर्न सकिरहेको छैन ।

मानिसलाई आक्रमण गर्नुको कारण ?

बाघ निश्चित क्षेत्रलाई आफ्नो बासस्थान बनाएर बस्ने प्राणी हो । जनावर त्यस क्षेत्रमा आउँदा द्वन्द्व सिर्जना हुने विज्ञहरू बताउँछन् । द्वन्द्वमा बलियोले जितेर क्षेत्र कब्जा गर्छ । कमजोर बाघ त्यहाँबाट विस्थापित हुन्छ । त्यसपछि नयाँ क्षेत्रको खोजी गर्छन् । सोही क्रममा मानवीय गतिविधि हुने ठाउँसम्म पुग्छन् । द्वन्द्वमा हार र बासस्थान छोड्नु परेका कारण रीसले गन्तव्यको खोजी गरिरहेको हुन्छ । एक सुरमा काम गरिरहेका अन्य जनावर हुन या मानिस जसलाई पनि आक्रमण गर्छन् ।

हाल भइरहेका आक्रमणहरूमध्ये ९० प्रतिशतभन्दा बढी जंगलमै भएका छन् । आवश्यकता पूर्तिका लागि मानिसहरू जंगलमा पुग्छन् । त्यहाँ पुगेकालाई बाघले मानिसलाई मृगजस्ता आहार ठानेरै हमला गर्छन । अध्ययनले बाँकेसहित पर्सामा निकुञ्ज क्षेत्रमा बाघको आहारको घनत्व कम देखिएको पुष्टि गरेको छ ।

चितवन, बर्दिया र शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा बाघको आहारको घनत्व पर्याप्त छ । बाँकेमा शृंखलाबद्धरूपमा मानिसको आक्रमण गर्ने बाघ एउटै हुनसक्छ । किनकि उनीहरूले सहज आहारसँगै एउटै स्वादको पनि बानी लाग्छ ।

निकुञ्जको असफल प्रयास

राप्तीसोनारी क्षेत्रमा बाघले मान्छेलाई खाँदा बाँके राष्ट्रिय निकुञ्जको एउटै बोली हुन्छ, ‘हामी गम्भीर छौँ । नियन्त्रण र उचित व्यवस्थापनको प्रयास गरिरहेका छौँ ।’ यतिमात्रै होइन सुरक्षाकर्मी र प्राविधिक खटाएको, हात्ती परिचालन गरिएको र आहारा राखिएको भन्दै मिडियाबाजीसमेत हुन्छ ।

भदौ महिनायता पाँचजनाको ज्यानै गइसकेको छ । अहिलेसम्म न मान्छे खाने माघ भेटाउन सकेको छ न पहिचान नै गर्न सकेको छ । नियन्त्रण र व्यवस्थापन त फगत प्रयासमै सीमित भएको छ ।

यसरी बाँके राष्ट्रिय निकुञ्जको असफल प्रयासको मार त्यस क्षेत्रका समुदायले भोगिरहेका छन् । कतिबेला बाघले खाने हो त्रासैत्रासमा उनीहरुको दैनिकी बितिरहेको छ । यता, बाँके राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा वन्यजन्तु–मानव द्वन्द्व अन्त्य गर्न सक्रिय रहेको दाबी गरेको छ । निकुञ्ज क्षेत्रमा आउने नागरिकको सुरक्षा गर्नु आफूहरुको कर्तव्य रहेको प्रमुख श्यामकुमार शाह बताउँछन् ।

त्यसका लागि गस्ती र अनुगमनलाई प्राथमिकता दिइएको उनले बताए । अनुगमनको क्रममा कतै बाघ देखियो भने सूचना प्रवाह गरेर तत्कालसमेत रहन आग्रह गर्ने गरिएको शाहले बताए । नागरिकलाई सामुदायिक वनमा समेत प्रवेश नगर्न अनुरोध गरिएको उनको भनाइ थियो । यस्तै प्रवेश नै अनुमति दिने नगरेको प्रमुख शाहले बताए ।

बाघ नियन्त्रणमा निकुञ्ज असफल सावित भयो नी भन्ने प्रश्नमा उनी भन्छन्, ‘निकुञ्जले आफ्नो कार्यक्षेत्रमा सफल संरक्षण गरिरहेको छ । मानवीय घटना नहुन भनेर हामी सचेत छौँ । बाहिरको हकको हाम्रो आधिकारिक जिम्मेवारी हुँदैन । घटना भइहाले वा हुन नदिन समन्वय चाही गर्छौं ।’ जिल्ला वन कार्यालयको अगुवाइमा हरेक दिन परिचालित भइरहेको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १० गते मंगलबार