बर्दियास्थित बाँसगढी–६ लाई शुक्रबार एक कार्यक्रमका बीच बालमैत्री वडा घोषणा गरियो । बाँसगढीमा रहेका नौवटा वडामध्ये वडा नम्बर ६ लाई ‘पहिलो बालमैत्री वडा घोषणा’ गरिएको हो ।
जनप्रिय माविमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य कविराम थारुले घोषणा गरे । उक्त अवसरमा प्रदेश सदस्य थारुले वडा अध्यक्ष दशरथ थारुलाई घोषणापत्र प्रदान गरेका थिए । घोषणासभामा शुभकामना मन्तव्य राख्ने अधिकांश वक्ताले बालमैत्री वडा घोषणा ऐतिहासिक भएको प्रतिक्रिया दिए ।
उद्यपि घोषणा राम्रो सुरुवात भएको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने उनीहरुको भनाइ छ । उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश सदस्य थारुले आफ्नै निर्वाचन क्षेत्र रहेको स्थानीय तहमा पहिलोपटक बालमैत्री वडा घोषणा हुनु ऐतिहासिक भएको बताए । उनका अनुसार जनताको प्रत्यक्ष सरोकार राख्ने वडा बालमैत्री भएको छ ।
अब यसलाई कार्यान्वयनमा जोड दिनुपर्छ । नगरप्रमुख शालिकराम अधिकारीले सिंगो नगरपालिकालाई बालमैत्री बनाउने अभियान प्रारम्भ भएको जानकारी दिए । ‘हाम्रो लागि ऐतिहासिक कार्य हो । पहिलो वडाको रुपमा घोषणा गर्न अफल भएका छौँ ।
अब सबै मिलेर कार्यान्वयनमा ध्यान दिनुपर्छ,’ नगरप्रमुख अधिकारीले भने । उपप्रमुख शुष्मा थारुले बालबालिका भविष्यको कर्णदार भएको भन्दै गर्भावस्थादेखि नै सुरक्षित राख्नुपर्ने बताइन् । सम्पूर्ण सरोकारवाला मिलेर कार्यान्वयनलाई ध्यान दिनुपर्ने बताएकी थिइन् । वडा अध्यक्ष दशरथ थारुले नगरकै पहिलो वडाको रुपमा बालमैत्री घोषणा गर्न पाउँदा खुसी लागेको बताएका थिए ।
घोषणा पूर्व नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर केसीले बालमैत्री वडा घोषणाका आधारका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार बालमैत्री वडा घोषणाका लागि ५१ सूचक र चार सिद्धान्तमा आधारित भएर सर्वेक्षण गरिएको थियो । सर्वेक्षण पूर्व र सर्वेक्षणपश्चातको अवस्थाको बारेमा उनले जानकारी दिए ।
बालमैत्री वडा घोषणासम्म सम्पूर्ण सूचकमा दर्जन बढी सूचकमा शतप्रतिशत र अन्यमा न्यूनतम ८० देखि ९९ प्रतिशतसम्म प्रगति भएको केसीको भनाइ छ । यस्तै कुनै पनि वडालाई बालमैत्री घोषणा गर्न आवश्यक न्यूनतम मापदण्ड वडा नम्बर पूरा गरेको उनले सुनाए ।
उक्त अवसरमा शिक्षक प्रतिनिधि सर्भिय शर्मा, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारु, नेकपा एमालेका नगर अध्यक्ष सुन्दर ढकाल नेपाली कांग्रेस नगरसचिव एकनारायण अधिकारी, नेकपा माओवादी केन्द्र बाँसगढीका उपाध्यक्ष भीमबहादुर खत्रीलगायतले शुभकामना मन्तव्य दिँदै घोषणा ऐतिहासिक रहेको र कार्यान्वयन नै अबको कार्यभार रहेकोमा जोड दिएका थिए । उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती देखाएका थिए ।
प्रतिक्रिया दिनुहोस्