एमसीसीविरुद्ध कोहलपुरमा विरोध प्रदर्शन



कोहलपुर ।

शुक्रबारसमेत बाँकेसहित देशका विभिन्न भागमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध विरोध प्रदर्शन भएका छन् ।

बाँकेको कोहलपुर र नेपालगन्जमा पनि विभिन्न राजतीतिक दलका भातृ संगठनहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् । कोहलपुरमा सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।

पार्टी कार्यालय सहिद स्मृति भवनबाट सुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न भागको परिक्रममा गरेर न्यूरोड चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै माओवादी केन्द्रका नेता बलराम काफ्लेले पैसासँग राष्ट्रियता साट्न नसकिने भन्दै एमसीसी फिर्ता गर्नुपर्ने बताए । ‘केपी ओली प्रधानमन्त्री हुँदा एमसीसी संसद्बाट पास गर्ने राष्ट्रघाती बुँदा थपेको हुन्,’ उनले भने, ‘संसद्बाट पास गरेपछि नेपालको संविधानभन्दा माथि रहने बुँदा पनि घुसाइयो ।’

कोणसभालाई सम्बोधन गर्दै युवा नेता नरेन्द्र न्यौपाने, राजेन्द्र बिष्ट, गीता शाहीलगायतले एमसीसी राष्ट्रघाती भएको भन्दै कुनै पनि हालतमा संसद्बाट पास गर्न नहुने बताएका थिए । यस्तै शुक्रबार नै नेपालगन्जमा समेत विभिन्न दलनिकट भातृ संगठनहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार