म्यादी प्रहरी भर्नाको तयारी



नेपालगन्ज ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा प्रहरीले पनि सुरक्षा रणनीति निर्माण गर्न थालेको छ । सुरक्षाका लागि तीन तहका प्रहरी मात्र होइन म्यादी प्रहरीसमेत परिचालन हुने गरेका छन् । यसका लागि प्रहरी पधान कार्यालयले आन्तरिक तयारी थालेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार स्थानीय तह निर्वाचनका लागि एक लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी भएको छ । प्रहरी पधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता विष्णुकुमार केसीले देशभर एकै चरणमा चुनाव गर्दा धेरै म्यादी प्रहरी आवश्यक हुने हुँदा सोहीअनुसार तयारी भइरहेको बताए ।

चुनानका लागि नेपाल प्रहरी तयारी अवस्थामा रहेको उनले बताए । ‘प्रहरीले चुनाव केन्द्रित सुरक्षा तयार पारेको छ,’ उनले भने, ‘अब म्यादी प्रहरी भर्ना गर्नेबारे तयारी भइरहेको छ ।’ उनका अनुसार निर्वाचनका लागि भर्ना हुने म्यादी प्रहरीले ५० दिनको सेवा सुविधान पाउने छन् । ‘स्थानीय तह निर्वाचनमा करिब एक लाख बढी म्यादी प्रहरी आवश्यक पर्ने अनुमान गरेको छौं । म्यादी भर्नाका लागि तयारी भइसकेको छ । यसको लागि केही समय लाग्छ । भर्ना हुने म्यादीले ५० दिनको सेवा सुविधा पाउने छन्,’ उनले भने ।

५० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले चुनाव सकिएको ८–१० दिनसम्म काम गर्न पाउने प्रवक्ता केसीको भनाइ छ । २०७४ मा दुई चरणमा स्थानीय तह निर्वाचन भएको थियो । सो निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । साथै सरकारले दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो ।

त्यसबेलाको स्थानीय तह निर्वाचनमा सरकारले नेपाली सेनालाई बाहिरी घेरामा परिचालन गरेको थियो भने पहिलो घेरामा नेपाल प्रहरी र दोस्रोमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । यता, गत माघ १९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ६ गते शुक्रबार