खजुरामा फोरलेन सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै बिहीबार स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । हुलाकी सडकमा पर्ने खजुरा खण्डमा सडक निर्माणमा लापरबाही भएको भन्दै व्यवसायी र स्थानीयले सडक अवरुद्ध पार्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले बिहीबार दिउँसो केही समय नेपालगन्ज गुलरिया सडकखण्डमा चक्काजामसमेत गरेका थिए । फोरलेन सडक विस्तारमा ढिलासुस्ती हुँदा सडक दुर्घटना बढेको, धुलोले स्थानीयको स्वास्थ्यमा असर पारेकाले आन्दोलनमा उत्रिनुपरेको स्थानीयहरुले बताएका छन् ।
‘निर्माणको काम ठेकेदारले बीचमै छोड्दा सवारीसाधनलाई मात्र होइन हामी स्थानीय र व्यवसायीलाई समेत धुलोले सास्ती दिएको छ,’ एक स्थानीयले भने, ‘अति नै भएपछि हामीले चक्काजाम गर्दै दबाब दिएका हौँ ।’
स्थानीय व्यवसायी दुर्गा खड्काले धुलोको कारण स्वास्थ्य र व्यवसाय दुवैमा असर गरिरहेको बताए । उनका अनुसार दैनिकजसो सडकै कारण साना ठूला दुर्घटना हुने गर्दछन् । बिहीबार तीन घण्टा बढी समय स्थानीय र व्यवसायीहरुले सडकमा टायर बालेर नेपालगन्ज–गुलरिया सडकखण्ड बन्द गरेका थिए । यसअघि पनि स्थानीयहरुले निर्माण कम्पनीलाई छिटो काम सक्न ताकेता गरेका थिए ।
स्थानीयहरु खजुरा गाउँपालिकाको ध्यानाकर्षण गराउन कार्यालयसम्मै बिहीबार पुगे । स्थानीय युवा यम दाहालले पटकपटक छिटो काम सक्न आग्रह गर्दासमेत नटेरेपछि चक्काजाम नै गर्नुपरेको बताए ।
उनका अनुसार खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले निर्माण कम्पनीलाई जानकारी गराएको र दुई दिनभित्र सडकको काम सुरु गराउने प्रतिबद्धता जनाएपछि सडक सञ्चालनमा ल्याइएको थियो ।
खजुरा क्षेत्रको १८ सय मिटर सडक फोरलेन बनाउने काम चार वर्षदेखि सुस्त गतिमा गइरहेको छ । यो सडकखण्ड निर्माणको लागि गजुरमुखी कन्ट्क्सनले ठेक्का पाएको छ । निर्माण निकै सुस्त गतिमा भइरहेकोले स्थानीयहरु आन्दोलित भएका हुन् ।










प्रतिक्रिया दिनुहोस्