मंगलबार खजुरा गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ । बालविवाहमुक्त गर्न आवश्यक सबै सूचकहरु पूरा भएपछि खजुरालाई एक कार्यक्रमका बीच बालविवाहमुक्त घोषणा गरिएको हो ।
बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका अनुसार गाउँपालिकाका सबै वडालाई बालविवाहमुक्त घोषणा गरेपश्चात खजुरालाई बालविवाहमुक्त घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधानअनुसार खजुरा गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जनाए ।
गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीय तहमा बालविवाह अन्त्यसम्बन्धी रणनीति, बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालसंरक्षण नीतिलाई टेकेर गाउँपालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेकाले पालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्न सफल भएको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष कक्षपतिले गाउँपालिकालाई जिल्लाकै तस्रो बालविवाहमुक्त गाउँपालिका घोषणा गर्न सकेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तररुपमा अभियानलाई निरन्तरता दिँदै बालविवाहलाई शून्य अवस्थामा झार्न सबै सरोकारवाला निकायलाई अनुरोध गरे । बालविवाहमुक्त गाउँपालिका घोषणासभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले खजुरा गाउँपालिका बालविवाहमुक्त घोषणा भएको प्रमाणपत्र अध्यक्ष कक्षपतिलाई प्रदान गरे ।
घोषणासभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले बालविवाहमुक्त गाउँपालिका घोषणा हुन सफल भएकोमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र साझेदार गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुप्रति आभार प्रकट गरे । यही महिनाभित्र जिल्लालाई नै बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको उनले बताए । उक्त अभियानलाई सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय र गैरसरकारी संघ संस्थाहरुको पनि उत्तिकै भूमिका रहने उनको भनाइ छ ।
बालविवाहमुक्त पालिका घोषणासभाका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य बाबुराम गौतम, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलगायतले शुभकामना व्यक्त गरेका थिए । खजुरा गाउँपालिकालाई बालविवाहमुक्त गर्न गरिएका प्रयास, पूरा गरिएका मापदण्ड र कार्यविधिबारे खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले उल्लेख गरे । बाँकेका ८१ वडामध्ये हालसम्म ४३ वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्