शुभाकर विश्वकर्मा । कोहलपुर ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जुम्लाकी एक सरकारी विद्यालयकी प्रधानाध्यापक महिलालाई बलात्कार गरेको अभियोगमा सांसद बानियाँविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
ति शिक्षिकासँग लामो समयदेखि आर्थिक लेनदेन रहेको र बलात्कार गरेको आरोप सांसद तथा पूर्वमन्त्री बानियाँलाई लागेको छ । उनीहरुबीच २०७३ सालदेखि चिनजान भएको थियो । बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।
सोही घटनाको सम्बन्धमा छानबिन गर्न बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरिएको पुष्टि गरे । उनका अनुसार पक्राउ पुर्जीका लागि बाँके जिल्ला अदालतले आइतबार स्वीकृति दिएको छ ।
अदालतले स्वीकृति दिएसँगै सांसद बानियाँलाई पक्राउ गर्ने प्रहरीलाई बाटो खुलेको छ । बानियाँलाई पक्राउ तत मातहतका कार्यालय र संसद् सचिवालयलाई जानकारी गराइसकेको अधिकारी बताउँछन् । ‘बानियाँलाई पक्राउ गर्न पुर्जी जारी गरिएको छ । उनीविरुद्ध बलात्कार मुद्दा परेको थियो,’ उनले भने, ‘प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
यो मुद्दालाई प्रहरीले गम्भीररुपमा लिएको छ ।’ बहालवाला सांसदविरुद्ध परेको बलात्कारको मुद्दाका सम्बन्धमा प्रहरीले प्रक्रियागतरुपमा काम गरिरहेको उनको भनाइ छ । पीडित महिलाले बानियाँविरुद्ध माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।
उनीमाथि माघ १९ गते बलात्कार भएको जाहेरीमा उल्लेख गरिएको छ । पीडक भनिएका सांसद अहिले काठमाडौंमा छन् । उनी नेकपा एमालेको जारी संसदीय दलको बैठकमा समेत सहभागी भइरहेका छन् । पीडित महिला भने जिल्ला प्रहरी कार्यालय बाँकेको सम्पर्कमा छिन् ।









प्रतिक्रिया दिनुहोस्