संस्कृति संरक्षण गर्दै युवा



नेपालगन्ज ।

पछिल्ला दिनयता नेपालमा परम्परागत संस्कृति लोप हुन थालिसकेका छन् । प्रविधिले नेपालीका धेरै परम्परागत संस्कृति लोप बनाइसकेको छ । कुनै स्थानमा पुराना पुस्ताहरुले परम्परागत कला संस्कृतिको संरक्षण गरिरहेका छन् ।

तर, बाँकेस्थित खजुराका युवा पुस्ता परम्परागत संस्कृति संरक्षणमा लागेका छन् । खजुरा गाउँपालिका ईगाउँमा ज्येष्ठ नागरिकहरूले परम्परागत संस्कृति हस्तान्तरणको अभियान सुरु गरेका छन् ।

सांस्कृतिक समूह बनाएर सक्रिय रहेका गाउँका अगुवाहरूले किशोर तथा युवालाई परम्परागत कला संस्कृति हस्तान्तरणको अभियान चलाएका हुन् । संस्कृति हस्तान्तरणका लागि यस वर्ष ८० वर्षीय ज्येष्ठ नागरिक र १२ वर्षीय किशोर किशोरीले संयुक्तरूपमा देउसीभैलो खेलेको स्थानीय अगुवा रूपसिंह भण्डारीले जानकारी दिए ।

‘पुख्र्यौली संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकेमा मात्रै यसको महŒव रहन्छ भनेर हामीले यो अभियान चलाएका हौँ,’ भण्डारीले भने । उनले पितापुर्खाबाट सिकेका कला संस्कृति नयाँ पुस्तालाई सिकाउनु आफूहरुको जिम्मेवारी भएको बताए ।

साविकको मध्यपश्चिमका पहाडी जिल्लामा देखाइने मयूर, कुरकुटी, सिंगारु, टप्पा नाच अगुवा पुस्ताले किशोर किशोरीहरूलाई सिकाउन सँगसँगै देउसीभैलो खेलेका थिए । गाउँका अगुवासँग पुख्र्यौली नाच सिक्न पाउँदा उत्साह थपिएको स्थानीय युवा सुदीप बिसीले बताए । अबको पुस्ताले हाम्रो पुख्र्यौली संस्कृतिलाई निरन्तरता दिनेछ भन्ने विश्वास बढेको स्थानीय अगुवा शेरबहादुर बिसीले बताए ।

ईगाउँमा साविक मध्यपश्चिम विकास क्षेत्रका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, रुकुमलगायतका जिल्लाबाट बसाइँसराइ गरी आएकाहरूको बाहुल्य छ । पुरानो पुस्ताले बाँके जिल्लामा हुने विभिन्न कार्यक्रममा परम्परागत गीत र नृत्य प्रदर्शन गर्दै आएको स्थानीय अगुवा उज्ज्वल बिसीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ४ गते बुधबार