कोहलपुर नगरपालिकाले जनताका अपेक्षामाथि तुषारापात ग¥योः माओवादी केन्द्र कोहलपुर



कोहलपुर ।

नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठनहरुले कोहलपुर नगरपालिकाले जनताको अपेक्षामाथि तुषारापात गरेको भन्दै ध्यानाकर्षण गरेका छन् ।

जनताको प्रत्यक्ष आवश्यकतासँग जोडिएका विषयमा स्थानीय सरकारले काम गर्न नसकेको भन्दै परिवर्तनकारी आन्दोलनको जगमा निर्माण भएको स्थानीय सरकारसँग जनताका थुपै अपेक्षा भएपनि पूरा हुन नसकेको भन्दै ध्यानाकर्षण गराइएको हो ।

सोमबार कोहलपुर नगरपालिकालाई विभिन्न १२ बुँदे मागपत्र बुझाउँदै विभिन्न जनवर्गीय संगठनहरुले आफ्ना माग पूरा गर्न एकसाताको अल्टिमेटम दिएका थिए ।

वाइसिएल कोहलपुर, अखिल नेपाल सुकुम्बासी संघ, अखिल क्रान्तिकारी कोहलपुर र अनेम संघ (क्रान्तिकारी ) ले संयुक्त रुपमा कोहलपुरका नगरप्रमुख लूटबहादुर रावतलाई बुझाएको ज्ञापनपत्रमा सुकुम्बासीहरुको समस्या समाधान, फोहोरमैला व्यवस्थापन, किसानका समस्या, स्वास्थ्य, शिक्षा तथा अन्य पूर्वाधार निर्माणमा भएको ढिलाइ, पशु चौपाय व्यवस्थापन र गुनासो सुन्ने अधिकारीको व्यवस्था गर्नु पर्ने लगाएतका माग गरिएको छ ।

अखिल (क्रान्तिकारी ) बाँकेकी कोषाध्यक्ष अनिसा रिजालले कोहलपुर नगरपालिकामा लागत संकलन, जग्गा नाप, नक्साको काम अगाडि बढाउनुपर्ने र लालपूर्जा वितरण प्रक्रिया र छुट भएकाहरुलाई बिनासर्त लागत संकलन कार्य गरिनुपर्ने, वेमौषमी वर्षा र असिना पानीबाट किसान र कृषि क्षेत्रमा परेको असरलाई मध्यनजर गरी पीडित किसानलाई राहत दिनुपर्ने बताइन् ।

यस्तै कोहलपुर क्षेत्रको फोहोरमैला व्यवस्थापनमा उचित ध्यान दिन र फोहोर मैला व्यवस्थापनका नाममा निजी कम्पनीसँग गरिएको अपारदर्शी सम्झौता सार्वजनिक गरी अनुदानका नाममा जनतासँग छुट्टै रकम असुली गर्ने काम बन्द गर्न ध्यानाकर्षण गराइएको छ ।

यसैगरी साझेदार कम्पनीसँग जनप्रतिनिधि र कर्मचारीको अवैध सेयर र रकम लिने गरेको भन्नेबारे सार्वजनिक गर्न, बधशाला निर्माण शुरु नहुँदै दिइएको लाखौं रकम पेश्की रकम असुल उपर गर्न, नगरपालिकामा बढ्दै गएको बेरुजु नियन्त्रण तथा असुली र कोटेशनका नाममा आफू र आफ्ना कार्यकर्तालाई योजना टुक्रा टुक्रा काम गर्ने गरेको, गुणस्तरहीन कामको भुक्तानी बन्द हुुनुपर्ने उनले बताइन् ।

‘५ वर्षे कार्यकाल सकिन लाग्दा समेत नगर अस्पताल, एम्बुलेन्स र नगरपालिकाको प्रशासनिक भवन समेत नबन्नु दुःखत कुरा हो’ उनले भनिन्, ‘छाडा पशु चौपायको व्यवस्थापन र यसबारे अहिलेसम्म भएको खर्च सार्वजनिक गर्नुपर्ने, विना कार्यविधि र मापडण्ड बनाइएका संरचना निर्माण कार्य बन्द गर्नुपर्ने, वितरणमुखी बजेट र निर्वाचनको मुखैमा गरिएको रकमान्तर रोक्नुपर्छ ।’

कोहलपुर नगरपालिकाभित्र एकजना गुनासो सुन्ने अधिकारीको व्यवस्था, गुनासो सुन्न एक टोल फ्रि नम्बर, गुनासो पेटिकाको व्यवस्था गरिनुपर्ने र कोभिड अस्पताल निर्माण र सञ्चालनमा भएको अनियमितता तथा कोभिड अवधीमा भएको बजेट खर्च सार्वजनिक गर्न माग समेत गरिएको छ ।

नगरपालिकाको भएको कोण सभामा बोल्दै नेकपा माओवादी केन्द्र कोहलपुरका नेता रेशम सापकोटाले जनताको जनजिविकाको पक्षमा काम गर्न नगरपालिकालाई खवरदारी गरिएको बताए । भातृसंगठनहरुको ज्ञापन पत्र बुझेपछि कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतले ज्ञापन पत्रमा गरिएका मागहरुको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ३ गते मंगलबार