संशोधनबिना एमसिसी पास हुँदैन: पूर्वसभामुख महरा



बर्दिया ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले सत्ता गठबन्धनको सहमतिमै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएको बताएका छन् ।

बर्दियास्थित गुलरियामा सोमबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि त्यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताए ।

पार्टीका वरिष्ठ नेतासमेत रहेका महराले पार्टी सहरीया र बुर्जुवाकरण हुँदै गएकोमा चिन्तासमेत व्यक्त गरेका थिए ।

‘सहरीया र बुर्जुवाकरण हुँदै गएको पार्टीलाई फेरि पनि जनताको पार्टी बनाउन हामी गाउँ फर्किने अभियान सञ्चालन गरेका छौं,’ उनले भने, ‘नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन अब आवश्यक छ ।’ पूर्व सभामुखसमेत रहेका महराले राष्ट्रिय हितविपरीत एमसिसी पास हुन नसक्ने धारणा व्यक्त गरे । ‘संशोधन र परिमार्जनबिना एमसिसी पास हुन सक्दैन,’ उनले भने ।

सोही अवसरमा उनले पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचनसमेत गरेका थिए । पुस्तकले क्रान्तिको मूल्यबोध गराउनुका साथै माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पु¥याउने विश्वास महराले व्यक्त गरे ।

फागुन १ गते जनयुद्ध दिवसको अवसरमा आयोजित बारबर्दियामा भएको कार्यक्रमलाई सम्बोधन गर्न आइतबार माओवादीका वरिष्ठ नेता महरा बर्दिया आएका थिए । पत्रकार महताराले जनयुद्धको समयमा आफूले पत्रकारिताको क्रममा भोगेका अनुभव र अनुभूतिहरुलाई पुस्तकमा समेटेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ३ गते मंगलबार