२७औँ जनयुद्ध दिवस: बाँकेमा भव्यरुपमा मनाइयो



कोहलपुर ।

बाँकेमा २७औँ जनयुद्ध दिवस भव्यरुपमा मनाइएको छ । नेकपा माओवादी केन्द्रको आयोजनामा बाँकेका विभिन्न पालिकामा विभिन्न गतिविधि गरेर मनाइएको हो ।

दिवसको अवसरमा जिल्लाका नेपालगन्ज, कोहलपुर र राप्तीसोनारी गाउँपालिकामा विभिन्न गतिविधि गरिएको थियो । २७औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन संघीय सरकारका मन्त्रीदेखि प्रदेश सांसद विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाइएको हो । सोही अवसरमा नगर पार्टी कार्यालयसमेत उद्घाटन गरिएको थियो । त्यहाँबाट ब्याण्डबाजासहित निस्केको नाराजुलुस त्रिवेणी मोड, त्रिभुवन चोक, भेरी अस्पताल हुँदै जिल्ला अदालत अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै प्रदेश सांसद आइपी खरेलले अहिले पनि देश माओवादी केन्द्रकै मुद्दामा चलेको बताए । संघीयता, गणतन्त्र, धर्मनिरिपेक्षतालगायतका मुद्दा माओवादीकै रहेको उनको दाबी थियो । उक्त अवसरमा खरेलले एमसीसी पास नहुने उनले बताए ।

कोणसभापश्चात् माओवादी नेपालगन्जले भेरी अस्पतालको ईमर्जेन्सी सेवामा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो । यस्तै जनयुद्धका क्रममा सहिद भएका व्यक्तिहरुको सम्झनामा नगर पार्टी कार्यालय र सहिद सेतु बिक चोकमा दीप प्रज्वल गरिएको थियो ।

राप्तीसोनारीमा बेपत्ताका परिवार सम्मानित २७औँ जनयुद्ध दिवसको अवसरमा राप्तीसोनारी गाउँपालिकामा सहिद तथा बेपत्ता परिवारका आफन्तलाई सम्मान गरिएको छ । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकले एक कार्यक्रमका बीच वडा नम्बर १ देखि ९ सम्मका ७० जना सहिद तथा बेपत्ता परिवारका आफन्तलाई सम्मान गरेका हुन् ।

यस्तै उक्त अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । राप्तीसोनारी गाउँपालिका कमिटीको आयोजनामा जनयुद्ध दिवसको अवसरमा रक्तदान र सम्मान कार्यक्रम सम्पन्न भएको हो । बेपत्ता परिवारलाई सम्मान गर्दै मन्त्री गहतराजले देशको आमूल परिवर्तनका लागि थालिएको बताए । उनका अनुसार जनयुद्धमार्फत देशको व्यवस्था परिवर्तनका लागि सहिद तथा बेपत्ता परिवारको ठूलो योगदान छ । नेकपा माओवादी केन्द्र राप्तीसोनारीका अध्यक्ष चिमबहादुर घर्तीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कोहलपुरमा रक्तदान कार्यक्रम २७औँ जनयुद्ध दिवसको अवसरमा कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र कोहलपुर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । एक औपचारिक समारोहका बीच नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेले उद्घाटन गरेका थिए ।

तत्कालीन नेकपा माओवादीको आह्वानमा २०५२ फागुन १ गते व्यवस्था परिर्वतनको लागि जनयुद्ध थालेको थियो । उक्त शसक्त आन्दोलन करिब १० वर्ष चल्यो । २०६३ मा माओवादी शान्ति प्रक्रियामा आएको हो । जनयुद्ध सुरु भएको दिनको सम्झनामा आयोजना गरिएको रक्तदान कार्यक्रममा करिब तीन दर्जन बढीले रक्तदान गरेका थिए ।

उनका अनुसार देशको व्यवस्था परिवर्तनको लागि जनताको साथसहित जनयुद्ध सुरु भएको थियो । यस्तै नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) लगायत विभिन्न जनयुद्धकालीन माओवादी घटकहरुले देशभर विविध कार्यक्रमहरु आयोजना गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २ गते सोमबार