बाँकेस्थित खजुरा र बर्दियाको बढैयातालमा चोरी गरेको आरोपमा दुईजना भारतीय डाँका पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय खुर्द खजुराको प्रहरी टोलीले जानकी गाउँपालिका–५ बुढियागाउँबाट कटुवा पेस्तोलसहित दुईजनालाई डाँकालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले एक थान कटुवा पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा भारत रुपैडिहास्थित निबिया गाउँ बस्ने २६ वर्षीय डब्लु मनिहार र बाबागन्ज बाबाकुट्टी बस्ने २८ वर्षीय निजामुद्दिन कबडिया रहेका छन् ।
बढैयाताल गाउँपालिका–८ शीतबजार बस्ने पर्शुराम सार्कीको घरबाट पुस २९ गते सुनसहित तीन लाख ३५ हजार लुटेको र माघ १७ गते बाँकेको खजुरा गाउँपालिका डी गाउँ बस्ने हरिप्रकाश डिसीको घरबाट ५० हजार नगद, साढे तीन तोला सुन र पल्सर मोटरसाइकल लुटेको आरोपमा दुवैजना पक्राउ परेका हुन् ।
लुटिएको मोटरसाइकल भोलिपल्ट बर्दिया बढैयाताल गाउँपालिका– बढैयाताल नजिकै रहेको पोखरीमा फेला परेको थियो । ‘डाँका चोरी गरेको आरोपमा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएका छौं,’ डिएसपी न्यौपानेले भने, ‘उनीमाथि हामीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेका छौं । थप केही तथ्य खुल्न सक्छ ।’
प्रतिक्रिया दिनुहोस्