खजुरा खानेपानीको चुनावः प्रतिपक्षको प्यानललाई हराउँदै सत्ता गठबन्धन प्यानल विजयी



नेपालगन्ज ।
बाँकेको खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा सत्ता गठबन्धन निकट प्यानलका उम्मेदवारहरु बिजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा प्रमुख विपक्षी एमाले र राप्रपा गठबन्धनका अधिकांश उम्मेदवारहरु पराजित भएका हुन् ।

दलगतरुपमा छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका उपभोक्ताहरुमा काँग्रेस निकट नोकबहादुर गोदार (अरबिन्द) प्रतिद्वन्दी एमाले निकट उम्मेदवार सतिस निरौलालाई ६४ मतान्तरले विजयी भएका छन् ।

निरौलाले २६९ मत ल्याउँदा गोदारले ३३३ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा एमाले निकट मोहन बहादुर खड्कालाई २८१ मतमा सिमित गराएर श्रवणध्वज खड्का २९२ मतका साथ विजयी बनेका छन् भने सचिवमा एमाले निकट मिरा खनालले २६८ मत पाउँदा माओवादी निकट मदन सुनारले २८८ मतका साथ चुनाव जितेका छन् ।

कोषाध्यक्षमा पनि एमालेका सिपी खड्काले प्राप्त गरेको २६७ मतका विरुद्ध माओवादीकी गिता सापकोटाले ३२१ मतका साथ विजयी बनेकी हुन् । महिला सदस्यमा भने एमालेकी पम्फा तिवारी विजयी बनेकी छिन् ।

उनले नन्दकली खरेललाई २६९ मतमा सिमित राख्दै ३०३ मत ल्याएर विजयी बनेकी हुन् । ६ जना सदस्यमा ३ जना एमाले निकट प्यानलबाट विजयी भएका छन् भने ३ जना सत्ता गठबन्धनले हात पारेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १ गते आइतबार