पार्वतीको शरीरमा ४०-५० भन्दा बढी गोलीका छर्राहरु छन् । जसले उनलाई जनयुद्ध झल्काइ रहन्छ । व्यवस्था परिवर्तनका लागि मृत्यु रोजेर लडाइँ लडेकी उनले व्यवस्था परिवर्तन त गरिन्, तर विडम्बना उनको जीवन फेरिन सकेन ।
अहिले उनी सामान्य नागरिकभन्दा फरक छैनिन् । परिवार पाल्न दैनिक श्रम गर्नै पर्छ । जयबहादुर अहिले घरपरिवार चलाउन मलेसियामा छन् । पार्वती घरधन्दा चलाउँछिन् ।
आजकै दिनअर्थात २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले व्यवस्था परिवर्तनका लागि जनयुद्ध थालनी गरेको थियो । त्यतिबेला जाजरकोटस्थित नलगाढ–४, पीपलचौर (हालः बाँके बैजनाथ गाउँपालिका–४, जनमत टोल) की पार्वती रावल बुढा स्कुले थिइन् ।
एउटा स्कुले बालिका हुनुको कारणले परिवारबाट मात्र होइन समाजबाट हुने हिंसा बाध्यताले सहनु प¥यो । हिंसा सहनुबाहेक अरु विकल्प पनि थिएन । जब उनले माओवादीको आन्दोलनप्रति झुकाब राखिन् र केही बुझन् थालिन्, ‘अनि सुरु गरिन् विद्रोह ।’
त्यतिबेला गाउँकै चारजना व्यक्तिको हत्या भएको उनैले देख्नु प¥यो । सरकारी सुराकीले अनेक दमन गथ्र्ये । जुन हिंसा र दमन आफूले खेपिरहेकी थिइन्, त्यसका विरुद्धमा आन्दोलन चलेपछि उनले विद्रोहको आवाज उठाइन् र २०५७ सालमा पूर्णकालीन माओवादी आन्दोलनमा होमिइन् ।
त्यसभन्दा पहिला उनी २०५६ सालमा पनि माओवादी आन्दोलनमा लागेकी थिइन् । पछि आमाको उपचार गर्ने भएपछि घर फर्किनु परेको थियो । व्यवस्था परिवर्तनसँगै जनताको जीवन परिवर्तन गर्ने अठोटका साथ जनयुद्धमा होमिएकी पार्वती कयौं लडाइँको अग्रमोर्चामा रहिन् । गोलाबारुद्ध सँगसँगै उनको दिन र रात कट्यो ।
अहिले पनि पार्वतीको शरीरमा ४०-५० भन्दा बढी गोलीका छर्राहरु छन् । जसले उनलाई जनयुद्ध झल्काइ रहन्छ । व्यवस्था परिवर्तनका लागि मृत्यु रोजेर लडाइँ लडेकी उनले व्यवस्था परिवर्तन त गरिन्, तर विडम्बना उनको जीवन फेरिन सकेन । अहिले उनी सामान्य नागरिकभन्दा फरक छैनिन् । परिवार पाल्न दैनिक श्रम गर्नै पर्छ ।
उसोतः उनका श्रीमान् जयबहादुर बुढा पनि माओवादी लडाकु हुन् । उनीहरुले २०६० सालमा युद्धकै बेला जनवादी विवाह गरेका थिए । जयबहादुर अहिले घरपरिवार चलाउन मलेसियामा छन् । पार्वती घरधन्दा चलाउँछिन् । जनयुद्ध लडेका पार्वती मात्र होइन धेरै लडाकु अहिले आफ्नै जीवन निर्वाहका लागि संघर्षरत छन्, जो हिजो जनता र देशका लागि जीवज समर्पित गरे ।
स्वच्छिक अवकासका नाममा केही रकम थमाएर त पूर्व लडाकुलाई घर फिर्ता पठाइयो तर, पछि उनीहरुको अवस्थाका बारेमा कहिले पनि राज्यले पछाडि फर्केर हेरेन । सरकार मात्र होइन, जनयुद्ध थालनी गर्ने दलका नेताहरु पनि आफ्ना पूर्व लडाकुको अवस्थामा विषयमा चासो नै राखेन, जसले गर्दा माओवादी शक्तिविहीन हुनु पु¥यो ।
यसमा पार्वतीलाई कुनै पश्चाताप छैन । बरु मृत्युभन्दा मुक्तिलाई आत्मसाथ गरेर लड्दा परिवर्तन आएकोमा उनी खुसी व्यक्त गर्छिन् । ‘मजस्ता हजारौं युवायुवती नलडेको भए परिवर्तन हुने थिएन,’ उनी भन्छिन्, ‘हामीले व्यवस्था र जनताको अवस्था फेरिम् ।’ अहिले आफ्नो अवस्था फेर्न संघर्ष गरिरहेको उनको भनाइ छ ।
व्यवस्था परिवर्तन भएसँगै शाषण र दमनबाट नागरिकले मुक्ति पाएको उनको भनाइ छ । उनले लडाइँका क्रममा कयौं शारीरिक र मानसिक यातना खेप्नु प¥यो । सेना र प्रहरीले दिने यातनाभन्दा उनलाई जनताले भोग्नु परेको दमन र शोषण नै बढी पीडादायी थियो । उनी अर्घाखाँची कारबाहीमा त मृत्युको मुखसम्म पुगिन् तर, बाँच्न सफल भइन् ।
जनयुद्धबेला तालिम लिएका, बसेका र प्रशिक्षणलगायतका ठाउँ त्यतिधेरै ख्याल छैन उनलाई । तितिमिति पनि राम्रोसँग याद छैन । राजनीतिक प्रशिक्षण र नक्सा जानकारी पछि उनीहरु अर्घाखाँचीतिर लागे । करिब दुई दिन लगाएर उनीहरु नेपाली सेनाको ब्यारेक आक्रमण गर्ने स्थलसम्म पुगे । करिब रातिको ११ बजेतिर कारबाहीका लागि लडाकु टोली अगाडि बढ्यो । विद्रोही स्वभावकी पार्वती पनि अगाडि बढिन् । उनलाई मृत्यु भन्नेसँग डर नै छैन ।
नेपाली सेनाको ब्यारेक घेरिएको काँडेतारलाई छिचोल्दै भित्र पसिन्, एउटा बत्तिमुनि लुकिन् । एउटा सिमेन्टको पोल थियो । ठूलो बत्ति थियो, तर बत्तिमुनि अँध्यारो । अडेस लिएर गोली हान्न उपयुक्त ठाउँ हुँदा उनी त्यहाँसम्म पुगेकी थिइन् । तर, नेपाली सेनाले थाहा पाएर एकोहोरो उनीतिरै गोली चलायो । पहिलो गोली नै उनको खुट्टामा लाग्यो । अर्काे गोली उनको हात लाग्यो । लगत्तै सीधै गोली छातीमा लाग्यो र उनी बेहास भइन् । लडाइँ सुरु गरेको करिब आधा घण्टामै उनलाई गोली लाग्यो र ढनिल् ।
दोहोरो भिडन्त हुँदा पनि पार्वतीको होस खुलेन । धेरैपछि उनी ढलेकै नजिक ठूलो आवाजमा बम पट्कियो । त्यही आवाजसँग उनी ब्युँझिइन् । उनलाई साथीले बोलाइन्, तर उद्दार गर्न जति अगाडि बढे उनीहरु सहिद भए । ब्यारेक नजिक उनी छटपटिरहिन् । कम्मरमा पानी भिरेकी छिन् तर झिकेर खान सक्ने स्थिति छैन । बिहानको करिब ३ बजिसकेको थियो ।
अलिअलि शीत थियो । भुइँमा लागेको शीतलाई चाटेर प्यास मारिन् । शरीरबाट रगत बगिरहेको छ । त्यतिबेला कोड नम्बर र पासपोर्ट दिइएको हुन्थ्यो । जहाँ नाम लिएर साथीलाई बोलाउन पाइँदैनथ्यो । आफ्नो अन्तिम अवस्था भएपछि उनले साथीलाई बोलाइन् । तर उनी भएका ठाउँमा अरु आउनै सकेनन् । बिहान उज्यालो हुनैथाल्दा गोलीहरु कम चल्न थाले ।
‘त्यसपछि साथीहरु मसम्म पुगे र मलाई उद्दार गर्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि त उपचारमै रहेँ ।’ करिब उनले दुई महिना उपचारमा बिताइन् । उपचार पूर्णरुपमा सकिएको थिएन, उनको टोली जुम्ला कारबाहीमा जान तयारी थियो । आफ्नै अटेरीले उनी उक्त कारबाहीमा पनि पुगिन् । लडाइँको पहिलो घेरामा नभइ तेस्रो घेरामा रहेर साथीहरुलाई सघाइन् ।
सेनासँग उनको जम्का भेट धेरै भयो । भागभाग पनि उस्तै भयो । पूर्वबाट उनी गिरफ्तारमा परिन् । त्यतिबेला १२ महिना जेल र १३ महिना बेपत्ता बनाइयो । त्यतिबेला उनले मानसिक र शारीरिक यातना ठूलै खेप्नु प¥यो । त्यतिबेला गिरफ्तारीमा परेकी उनी शान्ति प्रक्रियापछि मात्र रिहाइ भइन् । आत्मसमर्पण गराउन नसकेर नेपाली सेनाले पावर्तीलाई नेपाल प्रहरीको जिम्मा लगायो ।
त्यहाँ भने उनलाई केही सहज भएको थियो । अनेकन यातना दिँदा पनि उनले आत्मसमर्पण गरिनन् । ‘बरु मलाई मृत्यु स्वीकार थियो,’ उनी भन्छिन्, ‘तर आत्मसमर्पण स्वीकार गरेन् ।’ त्यतिबेला उनलाई जीवन बचाउनुभन्दा सर्वहाराको सत्ता स्थापना गर्नु स्कुलिङ थियो ।
यस्ता कयौं अनुभव सम्हालेकी उनी सामान्य जीवन बिताइरहेकी छिन् । नियमित उपचार गर्नै उनलाई सकस छ । ‘औषधि सेवन नगर्दा शरीर दुखेर बस्न, सुत्नै सक्दैन,’ उनी भन्छिन्, ‘शरीरभित्र भएका छर्रारहरु बेलाबेला दुख्छन् ।’
अहिले ति गोलीका छर्राहरु निकाल्न नसक्ने अवस्थामा छन् । उनी भन्छिन्, ‘व्यवस्था परिवर्तन भयो । आंशिक नेताको जीवन पनि अस्वाभाविक फेरियो तर हिजोका लडाकु अहिले कित बारीमा की भने खाडीमा छन् ।’
प्रतिक्रिया दिनुहोस्