राजपुर गाउँपालिका वडा नम्बर–७, डगमारामा खरले छाएको एउटा कच्ची घर छ । जहाँ बस्न कठिन छ । तर घरपरिवार चलाउने परिवार होइन पूरै गाउँलाई सुरक्षा दिने प्रहरी कष्टकर्णरुपले बसिरहेको छ ।
एक कोठे कच्ची घरबाट ६ जना प्रहरीले यहाँ सुरक्षाको काम गर्छन् । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ जना प्रहरीहरु छन् । कच्ची घरको नजिकै बाख्राको गोठजस्तै एउटा प्रहरीको जीर्ण भान्सा घर छ । त्यही एककोठे भवन नै प्रहरीको प्रशासनिक काम गर्ने थलो र सुत्ने स्थानसमेत हो ।
प्रशासनिक कामका लागि राखिएको टेबुलको छेउमा एकापट्टी खाट राखेर चौकीका ईन्चार्ज सुत्छन् भने अर्को छेउमा प्रहरी जवानहरु सुत्ने गरेका छन् । ‘जीर्ण बनिसकेको चौकीबाट पानी चुहिएर समस्या हुन्छ,’ चौकीमा कार्यरत एक प्रहरीले भने, ‘आफ्नो कुरा त छोडिदिनुहोस् । हतियार र गोलीहरु समेत जोगाउन गाह्रो हुन्छ ।’
ती प्रहरीका अनुसार भान्सा घर र शौचालयसमेत बेलाबेलामा हावाहुरीले उडाइदिन्छ । उक्त सीमा प्रहरी चौकीले नेपालीहरुको सुरक्षा मात्र होइन सीमा क्षेत्रको अनुगमनसमेत गर्छ । ‘सीमा प्रहरी चौकीका प्रहरी कच्ची एककोठे भवनमा कोच्चिएर बस्छन् ।
भवनका काठ पनि कुहिएर झर्न थालेका छन् । भान्सा घरको खरको छाप्रो छियाँछियाँ परेर कुहिन थालेको छ,’ राजपुर गाउँपालिकाका प्रवक्ता श्यामबहादुर रोकाले भने, ‘प्रहरीको बिजोक त त्यहाँभन्दा के हुन्छ र ? जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित छन् ।’
कार्यालय राम्रो नहुँदा सीमावर्ती क्षेत्रमा रहेर शान्ति सुरक्षा प्रदान गर्न समस्या हुने गरेको डगमारा नाका सीमा प्रहरी चौकी इञ्चार्ज टेकबहादुर ठेडी मगर बताउँछन् । ‘निकै पुरानो खरको छाना विभिन्न ठाउँमा प्वाँल परेको र त्यहीबाट शीत तथा पानी चुहिने गरेको छ,’ उनले भने, ‘शीत र पानीबाट बच्न ओछ्यानमाथि बाक्लो कागज राख्ने गर्दछौं ।’
सीमा प्रहरी चौकीको लागि जग्गा भए पनि भवन निर्माणमा कसैले चासो नदिएको बताइन्छ । सीमा प्रहरी चौकी नजिकै भारततर्फ व्यवस्थित भारतीय एसएसबीको क्याम्प छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले चौकीको भवन सुधारमा आफूहरुको ध्यान पुग्ने बताए । ‘भारतसँग जोडिएका दाङको सीमावर्ती क्षेत्रका जनतालाई सुरक्षा दिन प्रहरी आफैँ असुरक्षित छन्,’ उनले भने, ‘यसलाई सम्बन्धित स्थानीय तहले पनि सकेको सहयोग गर्नुपर्छ ।’
यता लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रकाश अधिकारीले प्रदेश सरकारको बजेटमा हाल नौवटा जिल्लामा दशवटा प्रहरी भवन निर्माण हुन लागे पनि दाङमा भने छुटेको जानकारी दिए । भारतसँग सीमा जोडिएको क्षेत्रमा प्रहरीको भवन निर्माण गर्न बजेट माग गर्ने विषयमा समन्वय भइरहेको उनले दाबी गरे ।










प्रतिक्रिया दिनुहोस्