रुसको लडाकू विमान मिगमा किन्जाल क्षेप्यास्त्र जडान, तर्सियो पश्चिम



एजेन्सी ।

युक्रेन संकट चलिरहेको बेलामा रुसले बाल्टिक सागरको तटमा रहेको कालिनिनग्रादमा मिग–३१के फक्सहाउन्ड लडाकू विमान तैनाथ गरेको छ । उक्त विमानमा किन्जाल हाइपरसोनिक क्षेप्यास्त्र पनि जडान गरिएको छ ।

रुस र नेटो दुवैले अत्याधुनिक हतियार तैनाथ गरिरहेको अवस्थामा रुसले कालिनिनग्रादको चकालोव्स्क नेभल एयरबेसमा किन्जाल क्षेप्यास्त्र सहितको लडाकू विमान तैनाथ गरेको हो ।

किन्जाल अर्थात् छुरा क्षेप्यास्त्रको अनुमानित रेन्ज १२ सय ४० माइल छ । यसले ५०० किलोटनको आणविक वारहेड पनि बोक्न सक्छ । त्यो भनेको हिरोशिमामा अमेरिकाले खसाएको आणविक बम फ्याट म्यानभन्दा ३०० गुणा बढी शक्तिशाली हो ।

यसको क्षेप्यास्त्र ध्वनिको गतिभन्दा १० गुणा बढी छ र यो मानक ब्यालिस्टिक क्षेप्यास्त्रभन्दा बढी चेप्टो गरी उड्ने हुनाले क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलाई प्रतिक्रिया जनाउने समय नै पुग्दैन । किन्जालले लक्ष्यलाई सिधै ताकेर प्रहार गर्छ अनि चलायमान लक्ष्यलाई पनि रेडार सीकरमार्फत पत्ता लगाएर ध्वस्त पार्छ ।

सन् २०१८ को मार्च महिनामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले किन्जाल हाइपरसोनिक क्षेप्यास्त्रको खुलासा गरेका थिए । यसको प्रशंसा गर्दै पुटिनले शत्रुको प्रतिरोध प्रणालीलाई यसले छल्न सक्ने भएकाले यो अजेय रहेको बताएका थिए ।

सन् २०१८ मा मस्कोको भिक्ट्री डे परेडमा यो क्षेप्यास्त्र पहिलोपटक देखिएको हो । सन् २०२१ मा रुसले दुईवटा विमानमा किन्जाल हाइपरसोनिक क्षेप्यास्त्र राखेर सिरियामा युद्धाभ्यास गरेको थियो ।

रुससँग विशाल संख्यामा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र भए पनि किन्जाल जस्तो छोटो दूरीको शक्तिशाली क्षेप्यास्त्र उसले तैनाथ गर्दा अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोलाई ठूलो चुनौती तेर्सिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २७ गते बिहीबार