रझेना र सल्यानी बंगालामा हात्तीपाइलेको अवस्थाबारे सर्भेक्षण हुने



नेपालगन्ज ।

बाँकेका दुई क्षेत्रमा हात्तीपाइलेको अवस्था पुनः सर्भेक्षण गर्न लागिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४, सल्यानी बंगला र कोहलपुर नगरपालिका–५ र ६ नम्बर वडाको रझेनामा पुनः सर्भेक्षण गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम लामो समय सञ्चालन गर्दा पनि सफल भएपछि यो चौथोपटक पुनः सर्भेक्षण गर्न लागिएको छ । फागुनको ३ र ४ गते पुनः सर्भेक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहीले जनाए ।

उनका अनुसार रि–प्रि–टास सर्भे तयारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको टोली बाँकेमा आइपुगेको छ ।

सल्यानी बंगाला र रझेनाका तीन-तीन सय सर्वसाधारणको उक्त सर्भेक्षण गरिने छ । यसभन्दा अघि रझेनामा सर्भेक्षण गरेकामध्ये १४ र सल्यान बंगालामा सर्भेक्षण गरिएकामध्ये तीन प्रतिशतमा हात्तीपाइने संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीले जनाए । ‘पाँच वर्षमाथिका व्यक्तिको शरीरमा हात्तीपाइले संक्रमण भएनभएको पहिचान हुन्छ,’ उनले भने, ‘साथै आमऔषधि सेवन कार्यक्रमको प्रभावकारिता पहिचानका लागि पनि पुनः सर्भेक्षण गर्न लागिएको हो ।’

सर्भेक्षणमा पाँच जनासम्मअर्थात् दुई प्रतिशतभन्दा कममा देखिएमा सफल मानेर अन्तिममा एकपटक मात्रै आमऔषधि कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ । केन्द्रका वरिष्ठ स्वास्थ्य प्रशासक डा. युवराज पोखरेलसहितको टोलीले बाँकेमा स्थानीय तहमा अन्तरक्रिया गरिरहेको छ । नेपालगन्जमा अहिलेसम्म सम्पूर्ण वडावासीले औषधि सेवन गर्न आनाकानी गर्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २६ गते बुधबार