फेरी दोहोरिने मौका छोप्दै बाँकेका पालिका प्रमुख



देश औपचारिकरुपमा स्थानीय तहको चुनावमा होमिएसँगै बाँकेका आठ पालिकाका प्रमुखहरुको चुनावी योजनाबारे हामीले बुझ्ने प्रयास गरेका छौं । मिसन टुडे दैनिकको सम्पर्कमा आएका बहुमत पालिका प्रमुखहरुले आफ्नो योजना खुलाउन चाहेनन् ।

केहीले भने पुनः गाउँपालिकामै दोहोरिने इच्छा देखाएका छन् । जिल्लाको एकमात्र उपमहानगरपालिकाका रुपमा रहेको नेपालगन्जका प्रमुख डा. धवलशम्शेर राणाले यसअघि नै बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधि ऐतिहासिक कार्यकालको उदारार्धमा छन् । आगामी वर्षको जेठ ५ गतेसम्म औपचारिक कार्यकाल रहेका जनप्रतिनिधि अब मुस्किलले तीन महिना बहाल रहने छन् ।

देशभरिका सात सय ५३ स्थानीय तहले एकसाथ दोस्रोपटक नयाँ नेतृत्व पाउने छन् । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आगामी वर्षको वैशाख ३० मा एकै चरणमा निर्वाचन हुनेगरि स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचन मिति घोषणासँगै मुलुक पुनः चुनावी माहोलमा होमिएको छ । संघीयता कार्यान्वयन र जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहले कस्तो नेतृत्व पाउलान् भन्ने बहससमेत सुरु भएको छ ।

स्थानीय तह निर्वाचन घोषणाको प्रभाव देशभरि झैँ बाँकेमा समेत देखिन सुरु भइसकेको छ । यहाँ राजनीतिक दल निर्वाचन केन्द्रित भइसकेका छन् । चिया गफ, चौतारो पाटी पौवादेखि सामाजिक सञ्जालमा समेत यो या त्यो पार्टीले जित्ने, आस्थावान् ढंगले चुनाव चिन्हमा भोट गरौँ भन्ने नेता कार्यकर्ता सक्रिय हुन थालिसकेका छन् ।

बाँकेको सन्दर्भमा गत निर्वाचनलाई फर्केर हेर्दा सबैभन्दा बढी नेकपा एमालेले चार (कोहलपुर, खजुरा, बैजनाथ र जानकी), नेपाली कांग्रेसले राप्तीसोनारी र डुडुवा, तथा राप्रपाले नेपालगन्ज र नरैनापुरमा जनता समाजवादी पार्टीले पालिका प्रमुख जितेको थियो । अब आगामी निर्वाचनमा ती पालिकामा पार्टीहरु आफ्नो पार्टीको अस्तित्व जोगाउन सफल होलान की नहोलान् भन्ने आँकलन गर्न थालिएको छ ।

देश औपचारिकरुपमा स्थानीय तहको चुनावमा होमिएसँगै बाँकेका आठ पालिकाका प्रमुखहरुको चुनावी योजनाबारे हामीले बुझ्ने प्रयास गरेका छौं । मिसन टुडे दैनिकको सम्पर्कमा आएका बहुमत पालिका प्रमुखहरुले आफ्नो योजना खुलाउन चाहेनन् ।

केहीले भने पुनः गाउँपालिकामै दोहोरिने इच्छा देखाएका छन् । जिल्लाको एकमात्र उपमहानगरपालिकाका रुपमा रहेको नेपालगन्जका प्रमुख डा. धवलशम्शेर राणाले यसअघि नै बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । राप्रपाका महामन्त्रीसमेत रहेका राणा लामो समय स्थानीय तहमा काम गरेका अनुभवी नेता मानिन्छन् । उनले स्थानीय तहको विकासमै पीएचडी गरेका छन् ।

यस्तै २०४९, २०५४ र २०७४ मा तत्कालीन कोहलपुर गाविस हुँदै नगरपालिकाको समेत प्रमुखमा विजयी भएका लुटबहादुर रावत अझै सक्रिय राजनीतिमै रहने मुडमा देखिन्छन् । ७५ वर्षीय रावतले अब स्थानीय तहमा नदोहोरिने संकेत गरेका छन् । सम्भवत्ः उनको अबको दाबी प्रदेश वा संघ नै हो । अबको निर्वाचतमा तपाईं तयारी के मा हो ? भन्ने प्रश्नमा रावतले घुमाउरो हिसाबमा राजनीतिमै सक्रिय हुने भाव व्यक्त गरे, ‘तत्कालै कुनै योजना बनाएको छैन । पार्टीले उचित जिम्मेवारी दिए म लिन तयार छुँ ।’

उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका तर्फबाट डुडुवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित नरेन्द्रकुमार चौधरीले भने पार्टीले दिएको जिम्मेवारी लिन आफू तयार रहेको बताए । उनी भन्छन्, ‘तत्काल मैले कुनै योजना बनाएको छैन । यो त पार्टीले गर्ने निर्णय हो । जिम्मेवारी दिए स्वीकार गर्छुं । विश्राम गर भन्यो भने त्यही गर्छुं ।’

यस्तै नेकपा एमाले बाँकेको अध्यक्षसमेत रहेका खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति आगामी निर्वाचनका विषयमा अहिले नै कुनै योजना बनाइ नसकेको बताए । उनका अनुसार कहाँ निर्वाचन लड्ने, लड्ने की नलड्ने भन्ने कुरा पार्टीले गर्ने निर्णय हो ।

उनले अहिले आफू पार्टी अध्यक्षसमेत भएकोले धेरै बोल्न नमिल्ने बताए । यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकामा नदोहोरिने भाव प्रकट गरेका छन् । बाँके जिल्ला नेपाली कांग्रेस कार्यबाहक सभापति भइसकेका उनी पार्टीले टिकट दिए प्रदेशसभामा चुनाव लड्ने विभिन्न अन्तर्वार्ताहरुमा बताउने गरेका छन् ।

अध्यक्षमा मेरो दाबी छ: धिताल

अघिल्लो स्थानीय तहको निर्वाचनमा जानकी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट रामनिवास यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनको ६ महिनाअघि असमायिक निधन भयो । यहाँ नेकपा एमालेबाटै भूमिसरा धिताल उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । अहिले उनी गाउँपालिकाको कार्यबाहक अध्यक्षका रुपमा छिन् ।

गत निर्वाचनमा जनताले काम गर्न सक्ने विश्वाससहित जिताएको उनले बताइन्् । ‘अध्यक्षज्यूको दुःखद् निधन भयो । मैले ६ महिनादेखि कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाली रहेकी छुँ,’ उनले भनिन्, ‘मैले लामो समयदेखि जनताको पक्षमा काम गर्दै आएको छुँ । आगामी निर्वाचनमा स्वाभाविकरुपमा मेरो दाबी अध्यक्षमा रहन्छ ।’

टिकट पाए गाउँपालिका मै दोहोरिन्छुँः रुचाल

नेकपा एमालले स्थानीय तहमा प्रमुख जितेका चार पालिकामध्ये एक हो, बैजनाथ गाउँपालिका । यहाँ मानबहादुर रुचाल ठकुरीले चुनाव जितेका थिए । उनी बाँकेका आठ पालिकाका प्रमुख÷अध्यक्षमध्ये सरल साधारण प्रमुख हुन् । मिडियामा खास्सै छाउन नचाहने अन्तर्रमुखी स्वाभाव भएका ठकुरी गाउँपालिकाको विकासमा अनवरत सक्रिय नेता हुन् ।

स्थानीय तहका प्रतिनिधि महँगा गाडीमा सवार हुने गरेकाबेला उनी भने मोटरसाइकलमा यात्रा गर्छन् । उनले मिसन टुडे दैनिकसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘पुनः टिकट पाए गाउँपालिकामै बसेर जनताको सेवा गर्ने योजना छ ।’

अवसर पाए दोहोरिन्छुँः थारु

पहिला अरुले नपाउँदा आफूले पाएको भन्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले अहिले पुनः आफैँले पाउनुपर्छ भन्ने मरिहत्तै नगर्ने बताए ।

‘मैले चाहेका बेला पार्टीले जिम्मेवारी दियो । जनतालाई विश्वास गरेर जिताए,’ उनले भने, ‘अब पुनः पार्टीले र जनतालाई कसलाई रुचाउँछन् । मलाई त्यो मञ्जुर छ ।’ यदी आफूलाई नै पार्टीले जिम्मेवारी दिए गाउँपालिकाको प्रमुखमा चुनाव उड्ने उनले बताए । उनी चुनाव केन्द्रित गरेर गाउँगाउँ जान थालेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २६ गते बुधबार