बाँके–बर्दियामा बाघ गणनाका लागि राखिएका १७ क्यामेरा चोरी, ६ वटामा हात्तीको क्षती



कोहलपुर ।

पाटेबाघ गणनाका लागि बाँके–बर्दिया कम्प्लेक्समा प्रयोग गरिएका १७ वटा अत्याधुनिक क्यामेरा हराएका छन् । बाघ गणनाका लागि प्रयोग भएका १७ क्यामेरा हराएको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दिया प्रमुख डा. रवीन कडरियाले बताए ।

‘बाघको फोटो खिच्नका लागि राखिएका १७ वटा क्यामेरा अहिलेसम्म हराइसकेका छन्,’ मंगलबार बाँकेमा भएको समन्वय बैठकमा उनले भने, ‘बाघको फोटो खिचिसकेको क्यामेरा हराउँदा फेरि अर्को क्यामेरा राख्नुपर्छ । यसले गणनामा समेत असर गर्छ ।’

सोमबारसम्म ए ब्लकमा नौवटा, बी ब्लक र सी ब्लकमा चार-चारवटा गरेर १७ वटा स्वचालित क्यामेराहरु चोरी भएका छन् । बी ब्लकमा अझै गणना जारी रहेको र डी ब्लकमा गणना सुरु गर्न नै बाँकी रहेकोले क्यामेरा हराउने संख्या अझै बढ्न सक्ने बताइएको छ ।

बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएका अत्याधुनिक प्रविधिका स्वचालित क्यामेराहरु चोरी हुने गरेको डा. कडरिया बताउँछन् । उनका अनुसार अहिलेसम्म जंगलमा राखिएका ६ वटा क्यामेरामा हात्तीले क्षति पु¥याइदिएको उनले जानकारी दिए ।

‘एउटा क्यामेराको ४० हजार रुपैयाँभन्दा बढी पर्छ । क्यामेरा हराउँदा आर्थिक भारसमेत बढिरहेको छ,’ उनले भने, ‘गणनामा भएका क्यामेराहरु बाहिरका मान्छेहरुलाई कामसमेत लाग्दैन ।’ अहिलेसम्म बाँके–बर्दिया कम्प्लेक्सअन्तर्गत रहेका चारवटा ब्लकमध्ये दुई ब्लकमा बाघ गणनाको कार्य सकिएको छ । ए र बी सम्पन्न भइसकेको छ भने सी ब्लकमा अहिले चलिरहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

केही दिनमा नै सी ब्लकमा पाटे बाघ गणनाको लागि खटिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । ‘अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना भइरहेको छ,’ उनले भने, ‘अहिले सी ब्लकमा चलिरहेको छ ।

केही दिनमा नै डी ब्लकमा समेत प्राविधिक टोली जान्छन् ।’ पाटे बाघ गणनाको लागि सात टोलीमा ४२ जना प्राविधिकहरु खटिएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २६ गते बुधबार