13 June 2024  |   शुक्रबार, असार १, २०८१

जुम्लामा हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु, दर्जनौं फसेको अनुमान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २३, २०७८  

जुम्ला ।

जुम्लामा हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ । तातोपानी गाउपालिका-७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी-८ की ३७ वर्षकी देवी शाहीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो।

यसैगरी तातोपानी गाउँपालिका-८ मा १८ देखि ५५ जना मानिस हिउँमा फसिरहेको तातोपानी गाउँपालिकाले अनुमान गरेको छ ।

‘जडिबुटी ( खिरौलो) कोर्न गएका गएका १८ देखि ५५ जना मानिस फसेका भन्ने खबर आएको छ, तर एकिन गर्न सकिएको छैन,’ गाउँपालिका अध्यक्ष नवराज न्यौपाने भने, ‘वडाध्यक्षहरुसँग समन्वय भईरहेको छ ।’ उनले हिउँमा फसेका मानिसहरु ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार हराएको मानिस ओडारमा बसेको खबर प्राप्त भएको बताए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले सो क्षेत्रमा खाद्यान्न बोकेर हेलेकोप्टर जाने तयारी भए पनि हिउँ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अवस्था नरहेको बताइन् । न्युज कारखाना

प्रकाशित मितिः आइतवार, माघ २३, २०७८     11:51:14 AM  |