20 June 2024  |   बिहिबार, असार ७, २०८१

बाँकेका यी संघ र प्रदेशका उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ २२, २०७८  

नेपालगन्ज ।

सरकारले तीनै तह (संघ, प्रदेश र स्थानीय) तहको चुनाव गराउने तयारी गरेको छ । विपक्षी दलहरुले पनि चुनावका लागि दबाब सिर्जना गर्न थालेका छन्, तर अर्काे चुनाव आउँदासम्म पनि २०७४ सालमा भएको संघ र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका उम्मेदवारले आफ्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसारका प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका तीन र प्रदेशसभा सदस्यका लागि उम्मेदवार भएका सातजना उम्मेदवारले अझै पनि निर्वाचन आयोगको कार्यालयमा खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचनका बेला उम्मेदवारले धेरै खर्च गर्ने हुँदा निर्वाचन आयोगले खर्च मापदण्ड बनाएको थियो । सोहीअनुसार खर्च गरे नगरेको उम्मेदवारले निर्वाचन आयोगमा खर्च विवरण बुझाउनुपर्छ ।

निर्वाचन क्षेत्र १(क) मा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट उम्मेदवार बनेको नन्कु गोडिया, निर्वाचन क्षेत्र २(ख) मा संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका प्रमादकुमार यादव र सोही निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट उम्मेदवार प्रेमबहादुर थापा क्षेत्र, निर्वाचन क्षेत्र ३ (ख) मा स्वतन्त्रबाट उम्मेदवार बनेका जकिर खाँ, नेकपा (माक्सवादी)का उम्मेदवार नन्कउ खाँ पठान, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट उम्मेदवार भएका बुधे बुढा र निर्वाचन क्षेत्र २(क) मा देशभक्त जनगणतान्त्रिक पार्टीका उम्मेदवार ठाकुरप्रसाद काफ्लेले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुम सुवेदीले जानकारी दिए ।

त्यस्तै उनका अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा सोही पार्टीबाट उम्मेदवार बनेका ऋषिराम थारु र एकीकृत राष्ट्रिय प्रजातनत्र पार्टी (राष्ट्रवादी)का तर्फबाट उम्मेदवार भएका पंकजकुमार शर्माले खर्च विवरण बुझाएका छैनन् । क्षेत्र नम्बर २ मा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका उम्मेदवार मदनसिंह अधिकारीले बुझाएका छैनन् भने क्षेत्र नम्बर ३ मा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार बनेका मुकुन्द सिंह वली पनि खर्च विवरण अझै बुझाएका छैनन् ।

प्रदेशसभा १(क) मा र (ख) मा १०÷१० जना, २(क) मा १३, २(ख) मा १५, ३(क) मा नौ र ३(ख)मा ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र १ मा १०, २ मा १७ र ३ मा आठजनाबीच प्रतिस्पर्धा भएको थियो ।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले एकजना उम्मेदवारले बढीमा २५ लाख रुपैयाँ खर्च गर्न पाउने र प्रदेशसभातर्फ एकजना उम्मेदवारले बढीमा १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकेको थियो ।

प्रकाशित मितिः शनिबार, माघ २२, २०७८     9:50:34 AM  |