13 June 2024  |   शुक्रबार, असार १, २०८१

टिप्पर मालिकसँग सहमती भएसँगै मैनापोखर क्षेत्रको अवस्था सामान्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८  

बर्दिया । 

टिप्पर सञ्चालक र पीडित पक्षबीच सहमति भएपछि नेपालगन्ज–गुलरिया सडकखण्ड सञ्चालनमा आएको छ । सोमबार मदिरा सेवन गरेका चालकले चलाएको टिप्परले बढैयाताल–३ सतपतिया गाउँमा दुईजनाको ज्यान गएपछि उक्त सडक अवरुद्ध भएको थियो ।

सोही दुर्घटनामा दुईजना स्थानीय महिला गम्भीर घाइते भएका थिए । तीन दिनदेखिको प्रयासपछि मात्र टिप्परका मालिक र पीडित पक्षबीच सहमति भएको वडाध्यक्ष दुर्गाप्रसाद पराजुलीले जानकारी दिए ।

‘सहमति भएसँगै तीन दिनदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको छ,’ उनले भने, ‘टिप्परका मालिकसँग नै सहमति भएपछि मात्र आन्दोलन फिर्ता भएको छ ।’ मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र चालकलाई हदैसम्मको कारबाहीको माग गर्दै मंगलबार बिहानैदेखि आफन्त तथा स्थानीयहरुले मंगलबार बिहानैदेखि मैनापोखर क्षेत्रमा प्रदर्शनसहित राजमार्ग अवरुद्ध पारेका थिए ।

सहमतिपश्चात बिहीबार साँझदेखि नै मैनापोखर क्षेत्रको अवस्था सामान्य भइसकेको वडाअध्यक्ष पराजुलीले मिसन टुडेलाई जानकारी दिए । ‘सहमति भएसँगै यहाँको अवस्था सबै सामान्य भइसकेको छ,’ उनले भने, ‘बिहीबार रात परिसकेकोले मृतकहरुको अन्तिम संस्कार शुक्रबार होला ।’ टिप्पर मालिकसँग भएको सहमतिअनुसार तत्काल मृतकका परिवारलाई तत्काल ५०/५० हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

त्यसैगरि बीमाबाट आउने रकमबाहेक अन्य प्रति मृतक परिवार थप साढे चार लाख रुपैयाँ टिप्पर मालिकले दिने सहमति भएको बताइएको छ । गम्भीर घाइते दुईजनाको हकमा उपचारमा लाग्ने सबै खर्च टिप्पर मालिकले तिर्ने सहमति भएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । सतपतिया गाउँमा सोमबार राति सडकबाट हुत्तिँदै आएको भे१क १४९५ नम्बरको टिप्परले किच्दा स्थानीय ४५ वर्षीय रामु थारु र सोमबहादुर विकको ज्यान गएको थियो ।

घरको आँगनमा उनीहरुसँगै आगो तापिरहेका स्थानीय ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया चमेलिया थारु गम्भीर घाइते भएका थिए । उनीहरुको नेपालगन्ज मेडिकल कलेज नर्सिङ होममा उपचार भइरहेको छ । टिप्परबाट भाग्दै गर्दा टिप्परका सहचालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीय लक्ष्मण सुनार घाइते भएको प्रहरीले जनाएको छ ।

टिप्पर चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का ३३ वर्षीय दुर्गा विकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएको छ । मदिरा पिएका विकले चलाएको टिप्पर सुर्खेतबाट इट्टा लिनको लागि बर्दियाको जमुनीतर्फ जाँदै गरेको थियो ।

प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८     3:10:22 PM  |