दोस्रो दिन बुधबारसमेत बर्दिया बढैयातालको मैनापोखर क्षेत्र दिनभरि तनावग्रस्त बनेको छ । सोमबार राति टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तहरुले दिनभरि प्रदर्शन गरेका हुन् ।
मदिरा सेवन गरेका चालकले चलाएको टिप्परले किच्दा आँगनमा आगो तापिरहेका बढैयाताल–३ सतपतियाका ४५ वर्षीय सोमबहादुर विक र रामु चौधरीको मृत्यु भएको ज्यान गएको थियो । सोही दुर्घटनामा परेर अन्य दुई महिला गम्भीर घाइते भएका थिए ।
ईलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार सुर्खेतका दुर्गाबहादुर विकले चलाएको भे१ख १४९५ नम्बरको टिप्परले दुईजनाको ज्यान लिनुको साथै अन्य दुईजनालाई गम्भीर घाइते बनाएको थियो । सोही विषयलाई लिएर गुलरिया–नेपालगन्ज सडकखण्डको मैनापोखर क्षेत्रमा मृतकका परिवार तथा आफन्तहरूले प्रदर्शन गरिराखेका हुन् ।
मृतकलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार र चालकलाई हदैसम्मको कारबाहीको माग गर्दै उनीहरुले मंगलबार र बुधबार दिनभरि प्रदर्शन गरे । परिवार तथा आफन्तहरुको प्रदर्शनका कारण दिनभर नेपालगन्ज–गुलरिया सडकखण्ड अवरुद्ध भएको थियो । प्रदर्शनकारीले दोषीमाथि कडा कारबाही र टिप्पर धनीलाई उपस्थित गराउन माग गर्दै सडकमा टायरसमेत बालेर अवरोध गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले टिप्पर चालकलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । तै पनि पीडित पक्षले आन्दोलन रोकिरहेका छैनन् । ईलाका प्रहरी कार्यालय मैनापोखरमा बुधबार पीडित पक्ष र टिप्पर समितिबीच छलफल भएपछि सहमति हुन सकेको थिएन ।
‘बुधबार दिनभरि पीडित र समितिका मान्छेहरुबीच छलफल भएको थियो,’ प्रहरी निरीक्षक धर्मराज जोशीले भने, ‘कुनै सहमति हुन सकेन । टिप्पर साहुँलाई बिहीबार उपस्थिति गराउने कुरा भएको छ ।’ दिनभरि राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक सडक प्रयोग गरेर यातायात सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
टिप्परको ठक्करबाट आगो तापिरहेकै सोही ठाउँका ३५ वर्षीया आशा प्यारी चौधरी र ४० वर्षीया चमेलिया थारु गम्भीर घाइते भएका छन् । उनीहरुको नेपालगन्जस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेको उपचार टिप्पर समितिले गरिरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । मदिरा सेवन गरेका चालकले चलाएको टिप्पर सुर्खेतबाट इट्टा लिनको लागि बर्दियाको जमुनीतर्फ जाँदै गरेको थियो ।
सहमति नहुँदा मृतक दुवैजनाको पोस्टमार्टमसमेत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्