बाँकेका असई थमन हत्या प्रकरणः हत्या आरोपितको सम्पत्ति रोक्का



कोहलपुर ।

बाँके घर भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्या आरोपमा एक सांसदसहित १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतले आदेश दिएको छ ।

जसपा मधेस प्रदेशका सांसद कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न जिल्ला अदालत महोत्तरीले आदेश दिएको हो ।

बाँकेको साविक कचनापुर–५ मुदुवा स्थायी घर भएका विक २०७२ भदौ २५ गते जलेश्वरमा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका थिए । बिदामा रहेका असई विक कार्यालय जाने क्रममा मधेश आन्दोलनमा सहभागीको निशानामा परेका थिए ।

आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जनकपुर लिने क्रममा महोत्तरी गाउँपालिकाको सनोखरा गाउँ नजिकै एम्बुलेन्सबाट थुतेर धानखेतमा लिएर आन्दोलकारीले क्रुर हत्या गरेका थिए । असई विकको हत्यामा संग्लन रहेको भन्दै प्रहरीले जिल्ला अदालत महोत्तरीमा २२ जनामाथि हत्या मुद्दा दर्ता गरेको थियो ।

जसमध्ये लोसपाका मधेस प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र सुरेश पाण्डे अदालतमा हाजिर भएर २०७५ साउन २९ मा साधारण तारिखमा रिहा भइसकेका छन् । अभिराम शर्मा मधेस प्रदेशका पूर्व राज्यमन्त्री हुन् । उनी राज्यमन्त्री बन्ने भएपछि अदालतमा हाजिर भएका थिए । उनीसँगै मेयर मिश्र र नेता पाण्डे अदालतमा हाजिर भएका थिए ।

हाजिर नभएका उक्त घटनाका आरोपी जसपा सांसद यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न मंगलबार अदालतले आदेश दिएको थियो । अदालतका स्रेस्तेदार मदन जयसवालका अनुसार कर्तव्य ज्यान मुद्दामा प्रदेश सांसद यादव, विकी साह, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव र अनिल ठाकुरको सम्पति रोक्का गर्न आदेश जारी भएको हो ।

‘प्रतिवादीहरुको नामको विभिन्न मितिमा म्याद तामेल भइसकेको र उनीहरु हालसम्म पक्राउ नपरेको तथा अदालतमा समेत उपस्थितसमेत नभएकाले अंश हकमा रहेको अचल सम्पत्ति मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ५८(१५) एवं दफा ६५(१) को खण्ड (ख) अनुसार रोक्का गर्न आदेश जारी भएको छ,’ स्रेस्तेदार जयसवालले भने ।

महोत्तरीको साविक बटिया गाविसको कच्ची सडकमा फँसेको एम्बुलेन्सबाट असई विकलाई थुतेर भाला, लाठी लगायत प्रहार गरेर धानखेतबीचमा हत्या गरेका थिए । एम्बुलेन्सलाई आक्रमणकारीले आगो लगाइदिएका थिए भने एम्बुलेन्स चालक र सँगै गएका एक प्रहरीले भने भागेर ज्यान जोगाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २० गते बिहीबार