14 June 2024  |   शुक्रबार, असार १, २०८१

बढैयातालमा मदिरा पिएका टिप्पर चालकको आंतकः आँगनमा आगो तापिरहेकाको लियो ज्यान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १९, २०७८  

सडकबाट हुत्तिँदै आएको भे१क १४९५ नम्बरको टिप्परले स्थानीय रामु थारुको आँगनमा आगो तापिरहेकालाई ठक्कर दिएको हो । ठक्करबाट घरधनी ४५ वर्षीय रामु थारु र छिमेकी ४५ वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले विकको घटनास्थलमै र थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

कृष्ण ओली । कोहलपुर ।

चालकले मदिरा पिएर चलाएको टिप्परले किच्दा बर्दियामा दुईजनाको ज्यान गएको छ । सोही टिप्परको ठक्करबाट दुईजना गम्भीर घाइते भएका छन् । भित्री सडकमा रहेको बढैयाताल गाउँपालिका–३ सतपतिया गाउँमा सोमबार राति घरको आँगनमा आगो तापिरहेकालाई टिप्परले ठक्कर दिएको थियो ।

सडकबाट हुत्तिँदै आँगनमा आएको टिप्परको ठक्करबाट दुईजनाको मृत्यु हुनुका साथै दुईजना गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । सडकबाट हुत्तिँदै आएको भे१क १४९५ नम्बरको टिप्परले स्थानीय रामु थारुको आँगनमा आगो तापिरहेकालाई ठक्कर दिएको हो । ठक्करबाट घरधनी ४५ वर्षीय रामु थारु र छिमेकी ४५ वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले विकको घटनास्थलमै र थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

टिप्परले किच्दा आगो तापिरहेका स्थानीय ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया चमेलिया थारु गम्भीर घाइते भएका छन् । उनीहरुको नेपालगन्ज मेडिकल कलेज नर्सिङ होममा उपचार भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पराजुलीले जानकारी दिए । टिप्परबाट भाग्दै गर्दा टिप्परका सहचालकसमेत घाइते भएका छन् । सडकबाट हुत्तिँदै आँगनमा टिप्पर जाँदै गर्दा हामफाल्दा सहचालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीय लक्ष्मण सुनार घाइते भएका हुन् । उनको पनि नेपालगन्ज मेडिकल कलेज नर्सिङ होममा उपचार भइरहेको छ । मृतक र घाइतेहरु जाडो बढेपछि घरकै आँगनमा आगो बालेर गफिँदै आगो तापिरहेका थिए । आगो ताप्दै गफमा भुलिरहेका बेला घरधनीसहित छिमेकीको सडकबाट एक्कासी हुत्तिँदै आएको टिप्परले ज्यान लियो ।

मदिरा खाएर तीव्र गतिमा चलाएको टिप्परले आगो तापिरहेका दुई महिलालाई गम्भीर घाइते बनाएको थियो । प्रहरीले मदिरा पिएर टिप्पर चलाउने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का ३३ वर्षीय दुर्गा विकलाई नियन्त्रणमा लिइसकेको छ । मदिरा पिएका चालकले चलाएको टिप्पर सुर्खेतबाट इट्टा लिनको लागि बर्दियाको जमुनीतर्फ जाँदै गरेको थियो ।

राजमार्गमा सर्वसाधारणको प्रदर्शन

टिप्पर आंतकको विरोधमा स्थानीयहरुले मंगलबार दिनभर गुलरिया–नेपालगन्ज सडकखण्ड अवरुद्ध पारेका थिए । मदिरा सेवन गरेका चालकले चलाएको टिप्परले आगो तापिरहेका दुईजनाको ज्यान लिएपछि आक्रोशित स्थानीयहरुले राजमार्ग अवरुद्ध पारेका हुन् ।

मृतकलाई उचित क्षतिपूर्ति, घाइते उपचार र चालकलाई कडा कारबाहीको माग राख्दै आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले दिनभर नेपालगन्ज–गुलरिया सडकखण्ड बन्द रहेको जानकारी दिए । स्थानीयहरुले दिनभर उक्त सडकखण्डको भोलागौडी र पुष्पनगरमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए ।

भोलागौडी बजारमा रुख नै ढालेर सडक अवरुद्ध पारिएको थियो । आफूहरुका माग पूरा नभएर आज बिहानैबाट समेत सडक अवरुद्ध पारिने स्थानीयहरुले जनाएका छन् । दिनभर प्रहरीले राजमार्ग खुलाउने प्रयास गरेपछि ठूलो संख्यामा स्थानीय भएपछि प्रहरी पछि हटेको थियो ।

‘कानुनी प्रक्रिया अगाडि बढ्यो’

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले चालकलाई कानुनबमोजिम कारबाही हुने बताएका छन् । चालक र टिप्पर नियन्त्रणमा आइसकेकोले कानुनी प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए । टिप्पर मालिक सुर्खेतमा रहेकोले खबर गरिसकिएको एसपी कार्कीले बताए ।

‘क्षतिपूर्तिको विषयमा कुरा गर्न सुर्खेतमा रहेका मालिकलाई समेत खबर गरिसकिएको छ,’ उनले भने, ‘मंगलबार साँझसम्म आइसकेका छैनन् ।

उनी आएपछि पीडित पक्षसँग छलफल होला ।’ चालकले मदिरा पिएर टिप्पर चलाएको पुष्टि भइसकेको बताउँदै एसपी कार्कीले टिप्परको मेकानिकल चेकजाँच भए मात्र सडकभन्दा बाहिर गएर ठक्कर दिनुको कारण खुल्ने बताए ।

‘चालकले मदिरा पिएको पुष्टि भइसकेको छ । मदिरा खाएर चलाउनु गल्ती भएपछि सोही कारणले नै दुर्घटना भयो भन्न मिल्दैन,’ उनले मिसन टुडेसँग भने, ‘टिप्परका कारणसमेत दुर्घटना भएको हुनसक्छ ।

किन सडकभन्दा बाहिर गएर दुर्घटना भयो भन्नेबारे टिप्परको चेकजाँच भएपछि मात्र थाहा हुन्छ ।’

‘क्षतिपूर्ति र निःशुल्क उपचार हुनुपर्छ’

टिप्परले पिच सडकभन्दा करिब १५ मिटरभित्र आएर आगो तापेर बसेका मानिसहरुलाई ठक्कर दिएको वडाध्यक्ष दुर्गाप्रसाद पराजुलीले बताए । ‘हाइवेबाट भित्र छिर्दा नै टिप्पर तीव्र गतिमा रहेको स्थानीयले देख्नुभएको रहेछ,’ उनले मिसन टुडेसँग भने, ‘दुर्घटना भएको ठाउँमा पनि १४/१५ मिटरभित्र घरको आँगनमा गएर मानिसलाई ठक्कर दिएको छ ।’

चालकले मदिरा सेवन गरेर टिप्पर चलाएको हुनसक्ने वडाध्यक्ष पराजुलीले बताए । ‘म पनि दुर्घटना भएको स्थानमा पुगेर आएँ । पिच सडकबाट भित्र गएर घरको आँगनमा आगो ताप्न बसेकालाई किचेको देखिन्छ,’ उनले भने, ‘टिप्पर चालकका कारण ठूलो मानवीय क्षति हुन पुग्यो ।’

मृतकका आफन्तहरुलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार हुनुपर्ने वडाध्यक्ष पराजुलीले बताएका छन् । आफ्नै घरको आँगनमा बसेका मानिसको ज्यान लिने टिप्परका चालकलाई समेत हदैसम्मको कारबाही गर्न उनले माग गरे ।

शोकमय सतपतिया गाउँ

घरको आँगनमा आगो तापिरहेका दुईजनाको टिप्परले ज्यान लिएपछि बढैयाताल गाउँपालिका–३ मा रहेको सतपतिया गाउँ शोकमा डुबेको छ । सडकभन्दा भित्र आएर टिप्परले मानिसहरुको ज्यान लिएपछि स्थानीयहरु आक्रोशितसमेत बनेका छन् ।

नजिकै घर भएका दुईजनाको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको वडाध्यक्ष दुर्गाप्रसाद पराजुलीले जानकारी दिए । ‘सतपतिया गाउँ मात्र होइन बढैयाताल नै शोकमा डुबेको छ,’ उनले भने, ‘सोमबार रातिदेखि नै गाउँ शोकमा डुबेको हो ।

पीडितले न्याय खोजिरहेका छन् ।’ टिप्परको ठक्कर नजिकैका दुई पुरुषको ज्यान गएको छ भने दुई महिला गम्भीर घाइते भएका छन् ।

प्रकाशित मितिः बुधबार, माघ १९, २०७८     3:07:21 PM  |