20 June 2024  |   बिहिबार, असार ७, २०८१

नेपालमा शक्तिशाली मौसम प्रणाली प्रवेश गर्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १९, २०७८  

कोहलपुर ।

आज (बुधबार) राति पश्चिम नेपालबाट वर्षा–हिमपात गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर दिएको जानकारीअनुसार यसको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली हुनेछ।

शुक्रबार भने देशैभर सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने देखिएको महाशाखाले जनाएको छ।

महाशाखाद्वारा जारी विशेष बुलेटिनअनुसार यस प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थान तथा बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। साथै पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना पनि छ।

यसैगरी शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। यसैगरी देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

बुलेटिनअनुसार गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।

शनिबार गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ भने यिनै प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले चेतावनी जारी गर्दै भनेको छ, ‘यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखाका अनुसार आइतबारदेखि मात्र यो मौसम प्रणाली कमजोर हुँदै मौसम क्रमिक रूपमा सुधार हुने देखिएको छ।

महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको माैसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि ३ दिनसम्म वर्षा–हिमपातको सम्भावना यस्तो छ–

माघ १९ गते बुधबार (आज)

दिउँसो : प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

राति : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ २० गते बिहीबार

दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभाग तथा तराईका धेरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ।

सुदूपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही भूभागमा मेघगर्जन/चटयाङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ २१ गते शुक्रबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ। साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, मधेश, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना तथा देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ।)

प्रकाशित मितिः बुधबार, माघ १९, २०७८     11:42:44 AM  |