13 June 2024  |   शुक्रबार, असार १, २०८१

खजुरामा फिल्मीशैलीमा लुटपाटः मध्यरातमा पेस्तोल देखाउँदै सुन, पैसा, मोटरसाइकल लुटियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७८  

खगेन्द्र दाहाल । नेपालगन्ज ।

बाँकेस्थित खजुरामा अज्ञात समूहले फिल्मीशैलीमा डकैती गरेको छ । खजुरा गाउँपालिका–४ का हरिप्रकाश सुनार (पप्पु) को घरमा पसेर पेस्तोल देखाइ उक्त अज्ञात समूहले डकैती गरेको हो ।

राति सबै सुतिसकेपछि करिब १ बजे चारजना हतियारधारीहरु घरको ढोका फोडेरभित्र प्रवेश गरेका थिए । पेस्तोल देखाउँदै धम्काएपछि पप्पुले आफ्नो घरमा भएको चारतोला सुन, मोबाइल तीनवटा, २२० सिसीको पल्सर मोटरसाइकल र नगद ५० हजार रुपैयाँ दिएका थिए ।

सुनचाँदी व्यवसायी पप्पुले खजुरा एक नम्बर बजारमा एलिसा ज्वैलर्स सञ्चालन गर्दै आएका छन् । ईलाका प्रहरी कार्यालय धनौलीका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको तथा डकैतीमा संलग्नहरुको खोजी भइरहेको छ ।

कसरी भयो डकैति ?

रातिको १ बजे कुहिरोले सडक देखिन छाडेको थियो । केही नकाबधारीहरु सुन पसल गर्ने पप्पुका घरभित्र छिरे । सबै परिवार मस्त निद्रामा थिए । डकैतीहरु घरको पछाडिको कोलियामाथिको झ्यालबाट हात छिराएर उनीहरुले भित्रबाट बन्द गरेको ढोका खोले र भित्र प्रवेश गरे ।

सुरुमा उनीहरु पप्पुका छोराको कोठामा पुगे । छोरालाई बन्दुक देखाउँदै नियन्त्रणमा लिएर बुवा आमा उठाउन लगाए । पप्पुका छोरालाई मलाई ज्वरो आएको छ भन्न लगाएर बुबाआमाको कोठाको ढोका खोल्न लगाए । त्यतिबेलासम्म नकाबधारी समूहले पप्पुको छोराको हात बाँधी सकेका थिए ।

छोराले ढोका खोल्न भनेपछि पप्पुले ढोका खोले । त्यस लगतै नकाबधारीहरु कोठामा प्रवेश गरेर बन्दुकलगायत धारिलो हतियार देखाउँदै सबै परिवारलाई नियन्त्रण लिए । उनीहरुले हल्ला नगर्न भन्दै हल्ला गरेमा ज्यान लिने धम्की दिए । नकाबधारीका एक व्यक्तिले फिल्मीशैलीमा कञ्चटमा बन्दुक राख्दै तिमीहरुसँग सुनचाँदी पसलबाट ल्याएको ब्याग निकाल भन्न थाले ।

नकाबधारीहरुले सबै धन सम्पत्ति निकाल्न भन्दै यदी नमानेमा छोराको ज्यान लिने धम्की दिन थाले । छोराको कञ्चटमा समेत बन्दुक ताकेर धम्की दिन थालेपछि पप्पुले छोरालाई केही नगर बरु सबै सम्पत्ति लगेर जाउ भने । त्यसपछि सुरुमा उनीहरुले सुनचाँदी पसलबाट ल्याएको ब्यागमा रहेको ३० हजार नगद तथा घरमा रहेको बचत भुड्की दुईवटा फोडेर लगे ।

त्यसपश्चात उनीहरुले घरमा रहेको चार तोला सुनका गहना, २२० सिसीको पल्सर बाइक र तीनवटा स्मार्ट मोबाइल लुटे । नकाबधारीहरुले अरु धन सम्पत्ति निकाल्न दबाब दिन थाले ।

तर घरमा त्योभन्दा अरु धन सम्पत्ति फेला नपारेपछि उनीहरुको ध्यान बजारमा रहेको सुनचाँदी पसलमा गयो । उनीहरुले पप्पुसँग पसलको चाबी तथा सुन र पैसा राखेको लकरको कोडसमेत मागे । पप्पुले डरका कारण सबै दिए पनि । करिब १ घण्टासम्म घर कब्जा गरेर बसेका नकाबधारीहरु अन्ततः पसलको चाबी त्यही छाडी घरका सबै सदस्यलाई एउटै कोठामा थुनेर भागे ।

उनीहरु मोटरसाइकलमा त्यहाबाट निस्कँदै गर्दा कसैलाई बताएमा फेरि अर्को दिन आएर गोली हानेर मारिदिने धम्की दिएका थिए । नकाबधारीहरु गएको करिब आधा घण्टापछि पप्पुका परिवारले कोठाभित्रबाटै गुहारेपछि उनीहरुलाई छिमेकीहरुले उद्दार गरेका थिए । पप्पुका अनुसार नकाबधारीहरु नेपाली बोले पनि उनीहरुको लवजमा हिन्दी तथा अवधि मिसिएको थियो ।

घरमा लुटपाट गर्ने समयमा नकाबधारीहरुले सोचेको जस्तो धन सम्पत्ति फेला नपारेपछि पप्पुलाई तेरो नजिकको मान्छेबाट हामीले धेरै धन सम्पत्ति भएको सुराक पाएर लुट्न आएको तर सोचे जस्तो फेला नपरेको समेत बताएका थिए ।

उनीहरुले सुराक दिने नजिकको मान्छेले धोका दिएको भन्दै उसलाई समेत नछाड्ने बताएका थिए । यो घटनाले सुरक्षा व्यवस्थामा प्रश्न चिन्ह खडा गरेको छ भने स्थानीयहरुमा त्रासको वातावरण सिर्जना भएको छ ।

प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७८     12:42:50 PM  |