20 June 2024  |   बिहिबार, असार ७, २०८१

जेठ ५ भित्रै स्थानीय चुनाव गर्ने सरकारको तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७८  

सरकारले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ। सरकारले स्थानीय चुनावबारे अनौपचारिक रूपमा निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ।

आयोगले पनि जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने बताएको छ। जेठ ५ भन्दा पछि स्थानीय चुनाव गर्ने हो भने कानुन संशोधन गर्नुपर्ने आयोगको भनाइ छ।

‘जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नुपर्दैन,’ स्रोतले भन्यो, ‘जेठ ५ पछि चुनाव गर्ने हो भने कानुन संशोधन गर्नुपर्छ र यसमा आयोगको सहमति हुन्न।’

निर्वाचन आयोगले सरकारलाई जेठ ५ अघि नै चुनाव गर्न भनेपछि कानुन किन संशोधन गर्न नपर्ने हो भन्नेबारे आधारसहित तयार बस्न भनेको स्रोतको भनाइ छ।

केही संविधानविद्हरूले भने स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउनुपर्ने सुझाव सरकारलाई दिएका थिए।

हालै बसेको सत्तारूढ गठबन्धन बैठकमा पनि स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर जेठभित्रै स्थानीय चुनाव गर्ने सहमति बनेको थियो।

सम्भवत: आज आयोगसँग छलफल गरेर सरकारले जेठ ५ भित्रै चुनाव गर्ने गरी मिति तय गर्ने निर्णय गर्न सक्ने एक मन्त्रीले बताए। कानुन संशोधन गर्न नपर्ने भए जेठ ५ भित्रै स्थानीय तह चुनाव गर्न सकिने ती मन्त्री बताउँछन्।

प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७८     11:24:57 AM  |