20 June 2024  |   बिहिबार, असार ७, २०८१

योजनामै सीमित ‘टूरिज्म जोन’ नेपालगन्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १९, २०७८  

दिवा तथा रात्रिकालीन पर्यटन गतिविधिलाई व्यवस्थापन गर्न ‘टूरिज्म जोन’ सञ्चालन भए नेपालगन्जसहित लुम्बिनी र बुटवललाई राष्ट्रिय स्तरको पर्यटन गन्तव्यको रुपमा विकास गरिने प्रदेश सरकारको लक्ष्य थियो ।

यसका लागि प्रदेश सरकारले नीतिगत विषय नै टुंगो लगाएको छैन । कोभिड–१९ (कोरोना भाइरस) जोखिमका कारण देखाउँदै सरकारले उक्त अगाडि बढाउनबाट पन्छिएको छ । यसका लागि यहाँबाट प्रदेशसभामा सहभागी हुने जनप्रतिनिधिले समेत सरकारलाई दबाब दिएको देखिँदैन ।

नेपालगन्ज ।

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जसहित लुम्बिनी र बुटवललाई ‘टूरिज्म जोन’ घोषणा गर्ने उल्लेख छ । सहरी पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायी, स्थानीय तहको समन्वयमा दिवा तथा रात्रिकालीन पर्यटन गतिविधिलाई व्यवस्थापन गर्न ‘टूरिज्म जोन’ घोषणा गर्ने लक्ष्य राखिएको थियो । तर अहिले उक्त कार्यक्रम योजनामै सीमित बनेको छ ।

समयमै कार्यविधिसमेत निर्माण हुन सकेको छैन, जसले टूरिज्म जोन घोषणा योजना अलपत्र अवस्थामा परेको छ । उक्त योजनाले नेपालगन्जको व्यापार व्यवसायसँगै पर्यटनले ठूलो फट्को मार्ने अपेक्षा थियो । दिवा तथा रात्रिकालीन पर्यटन गतिविधिलाई व्यवस्थापन गर्न ‘टूरिज्म जोन’ सञ्चालन भए नेपालगन्जसहित लुम्बिनी र बुटवललाई राष्ट्रिय स्तरको पर्यटन गन्तव्यको रुपमा विकास गरिने प्रदेश सरकारको लक्ष्य थियो ।

यसका लागि प्रदेश सरकारले नीतिगत विषय नै टुंगो लगाएको छैन । कोभिड–१९ (कोरोना भाइरस) जोखिमका कारण देखाउँदै सरकारले उक्त अगाडि बढाउनबाट पन्छिएको छ । यसका लागि यहाँबाट प्रदेशसभामा सहभागी हुने जनप्रतिनिधिले समेत सरकारलाई दबाब दिएको देखिँदैन ।

यस विषयमा तीन सहरमा सम्भाव्यता अध्ययन भइरहेको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सूचना अधिकारी खगेश्वर घिमिरेले जनाए । ‘कार्यक्रम लागू हुने सहरको सम्भाव्यता अध्ययन भइरहेको छ,’ उनले भने, ‘त्यसपछि अरु काम अगाडि बढाउँछौं ।’

कार्यविधिको काम पनि अगाडि बढिरहेको उनको भनाइ छ । जहाँ जनघनत्व बढी छ त्यस स्थानलाई छनोट गरेर कार्यक्रम ल्याइएको भन्दै उनले भने, ‘यो कार्यक्रमले पर्यटन र व्यापारमा ठूलो सहयोग पु¥याउँछ ।’ नेपाल–भारत सीमा क्षेत्रका सहरमा कार्यक्रम लागू गरिएको हुँदा भारतीय पर्यटक अझ बढी नेपाल आउन सक्ने प्रदेश सरकारको अपेक्षा छ ।

नेपालगन्ज तयार छ
केशव न्यौपाने
क्षेत्रीय प्रवन्धक, सिद्धार्थ भ्यू होटेल

दिवा तथा रात्रिकालीन पर्यटन गतिविधिलाई व्यवस्थापन गर्न नेपालगन्ज सक्षम छ । सरकारले यसलाई अनुमति दिनु प¥यो । त्यहीखालका सुविधाहरु पनि सरकारले उपलब्ध गराए असम्भव भन्ने छैन । त्यसै पनि यहाँका ठूला होटेलहरुले राति पनि सेवाहरु दिइरहेका छन् । मात्रै यति हो, ‘रातिमा होटेलभित्रै केन्द्रित हुन्छ भने दिवामा होटेल खुला हुन्छ ।’

दिवाभन्दा रातिमा मान्छेहरु घुम्न मन पराउने हुन्छन् । त्यसले व्यापार र पर्यटनमा ठूलो राहत पु¥याउँछ । बाहिरी देशहरुमा भ्रमण गर्दा पनि हामी देख्छौं कि, ‘त्यहाँ सुरक्षित रात्रिकालीन व्यापार हुन्छ ।’ ति देशहरुमा कानुन पनि कुनै कन्जुस्याइ गरेर बनाइएका हुँदैनन् ।

आवश्यक पर्ने कानुन बनाइएका छन् । पालना गर्ने र पालना गराउने पनि सचेत र सजग छन् । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि कानुनले खुला गरेअनुसार सुरक्षित गर्दा राम्रो हुन्छ । यो पर्यटन र अन्य व्यवसायीसँगै सर्वसाधारणका लागि राम्रो कुरा हो ।

नेपालगन्जमा आवश्यकता छ
श्रीराम सिग्देल
अध्यक्ष, नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा) बाँके

सरकारले ल्याएको यो कार्यक्रमका विषयमा मलाई थाहा छैन । कार्यक्रम ल्याउँदा पर्यटन व्यवसायीसँग छलफल गरिएन । जो गरिनू पथ्र्याे । जो कार्यक्रम सञ्चालन गर्ने कुरा छ, यो आजको आवश्यकता हो । जरुरी हो । पोखरा, काठमाडौं दिवा र रात्रीकालीन पर्यटन गतिविधि गर्नु पाइने नेपालगन्ज किन नपाइने ?

यसलाई कसरी कार्यान्वय र व्यवस्थित गर्ने सरकारले सरोकारवालासँग परामर्श गर्नुपर्ने आवश्यकता छ । सरकार रात्रीकालीन र दिवाकालीन सेवाका लागि उदार हुनुपर्ने जरुरी पनि छ । एउटा मापदण्ड बनाएर सुरक्षित पर्यटन गतिविधि सञ्चालन गर्नु भनेको आर्थिक उपार्जन गर्नु हो ।

नेपालको पहिलो व्यापार भनेकै पर्यटन हो । त्यसैले सरकारले गन्तव्य पहिचान गरे कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । बस्ने र खाने ठाउँको एकीन हुनुपर्छ । पर्यटन–पर्यटन भन्दै कराएर मात्र हुँदैन । काम गर्नुपर्छ ।

नेपालगन्जले पनि तयारी गर्दैछ
गुरुदत्त सुवेदी

प्रमुख प्रशासकीय अधिकृत, नेपालगन्ज उपमहानगरपालिका

प्रदेश सरकारको कार्यक्रमबारे प्रशासनिकरुपमा कुनै समन्वय भएको छैन । राजनीतिकरुवमा समन्वय भएको कुरा थाहा भएको छैन । हामीले पनि नेपालगन्जमा रात्रीकालीन व्यापार सञ्चालन गर्ने विषयमा छलफल गरिरहेका छौं ।

भारतीय हबका रुपमा रहेकाले पनि नेपालगन्जमा त्यसको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं । नेपालगन्जको सबै एरियामा सम्भव छैन । कुनै निश्चित एरिया बनाएर जाने छलफल भएको छ ।

प्रकाशित मितिः बुधबार, माघ १९, २०७८     9:01:36 AM  |