गृहणीबाट महिला उद्यमी बनेकी आरती



खुद्रा पसलसँगै उनले माटाबाट निर्माण गरिएका सामग्रीहरु पनि बिक्री गर्छिन् । त्यसबाट अहिले उनको मासिक आम्दानी ५० हजारभन्दा बढी हुन्छ । यसले उनलाई कसैका अगाडि हात थाप्न परेको छैन । आफैँ सक्षम बनेकी छिन् ।

कोहलपुर ।

गृहणी, ‘पाँच वर्ष अगाडि कोहलपुर–११ सिर्जना टोल बस्ने आरती सिंह ठकुरी (४३) परिचय यही थियो ।’ श्रीमान् विष्णु सिंह ठकुरीले कमाइ ल्याउने र गृहणीका रुपमा काम गर्ने दैनिक थियो उनको । उनको चाहाना पनि ठूलो थिएन । श्रीमान्को कमाइमा एक÷दुई रुपैयाँ थप्ने र झन सजिलो दैनिकी बनाउने चाहा थियो ।

तर दुःखद्, ‘उनको यो सपनाले उल्टो बाटो रोज्यो ।’ उनका श्रीमान् विष्णुको जन्डिसका कारण २०७२ मा मृत्यु भयो । जीवनका कयौं सुखदुःखका घुम्तीमा हातेमालो गर्दै हिँड्ने उनको सपना चुडियो । र, उनको काँधमा एक्कासि ठूलो जिम्मेवारी आइबस्यो । मृत्यु स्वीकार्न सकिँदैन तर, नस्वीकार पनि हुँदैन । विष्णु यातायात प्रालिमा काम गथ्र्ये ।

उनको कमाइले आफ्नो उपचार र घरपरिवार पाल्नै ठिक्क थियो । श्रीमान्को देहावसानले उनको जीवनसाथी मात्र खोसेन, उनको परिवारलाई विचल्लीमा पनि पा¥यो । गृहणी उनलाई घर परिवारै पाल्न कठिन भयो । दुई छोरा भएकी उनले छोराहरुलाई बर्दियास्थित बाँसगढी–६, बमौली आफ्नै गाउँमा फर्किन पनि भनिन् । तर पढाइका कारणले उनीहरु घर फर्किन सकेनन् ।

विष्णुको अल्पायुमै मृत्युपछि यातायात प्रालिले आरतीलाई रोजगारी दियो । त्यहाँ उनले करिब एक वर्ष काम गरिन् । त्यहाँको तलबले छोराहरु पढाउने, श्रीमान्को उपचार हुँदा लागेको ऋण तिर्न उनलाई फलामको चिउरा चपाउनु झै भयो ।

‘जागिर गरेर मैले आर्थिक बोझ थाम्नै सकेन,’ उनी भन्छिन्, ‘साह्रै गाह्रो भयो । तलब ५/६ हजार हुन्थ्यो । मलाई मासिक ४० देखि ५० हजार रुपैयाँ आवश्यक पथ्र्याे । जागिरले त्यो सब व्यवस्थापन गर्न सकेनँ ।’ उनीमा एक्कासि आँट आयो र एउटा जोखिम मोल्ने निर्णयमा पुगिन् ।

त्यो थियो, ‘गृहणीबाट महिला उद्यमी बन्ने अठोट ।’ त्यही सोच बन्यो उनको पहिलो टर्निङ प्वाइन्ट । उनले आफ्नो परिचय बदल्न एक लाख रुपैयाँ ऋण लिइन् र पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिर्जना टोलमा खुद्रा पसल सञ्चालन गरिन् । त्यतिबेला उनले ठूलो मिहिनेत गर्दै गइन् । व्यापार पनि राम्रो चल्यो । दैनिकी गुजारा चलाउन उनलाई यतिबेला कुनै समस्या छैन ।

श्रीमान्को उपचारमा लागेको ऋण पनि उनले मासिकरुपमा किस्ताका रुपमा तिर्दै आएकी छिन् । ‘मैले व्यापार गरेर धेरै पैसा जम्मा गरेन्,’ उनले भनिन्, ‘छोराहरुलाई उच्च शिक्षा दिएँ । परिवार पाल्न सहज भयो । त्योभन्दा पहिला गृहणीबाट मैले महिला उद्यमीको ट्याग पाएँ ।

आत्म सन्तुष्टि छ ।’ आफ्नो परिचय बदलिँदा उनी ढंग छिन् । उनले व्यापारलाई वृद्धि पनि गर्दै गएकी छिन् । खुद्रा पसलसँगै उनले माटाबाट निर्माण गरिएका सामग्रीहरु पनि बिक्री गर्छिन् । त्यसबाट अहिले उनको मासिक आम्दानी ५० हजारभन्दा बढी हुन्छ । यसले उनलाई कसैका अगाडि हात थाप्न परेको छैन । आफैँ सक्षम बनेकी छिन् ।

‘श्रीमान् जुम्दा र आफ्नो हातमा ठूलो आर्थिक भार पर्दा म विदेश पनि जान सक्थ्ये,’ उनी भन्छिन्, ‘तर, मैले छोराहरु छोड्न मानेन् र स्वदेशमै बसेर केही थाहेँ ।’ पहिला गृहणी हुँदा र अहिले महिला उद्यमी हुँदा छरछिमेल गर्ने व्यवहार पनि बदलिएको छ ।

पहिला उनलाई गृहणीका रुपमा गाउँलेले व्यवहार गर्थे भने अहिले महिला उद्यमीलाई गर्ने व्यवहार गर्छन् । दुःखमा परेका महिलाहरुका लागि उनी एउटा खुला किताब बनेकी छिन् । जति ठूलो दुःख हुँदा पनि लगनशील, इमान्दारीतापूर्वक जिम्मेवार बहन गरे सफलता पाइँदा रहेछ भन्ने उनले उदाहरण प्रस्तुत गरेकी छिन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार