बर्दियामा टिपरले किच्दा आँगनमा आगो तापिरहेका २ जनाको मृत्यु, दुई गम्भीर घाइते



बर्दिया ।

टिपरको ठक्करबाट बढैयाताल–३ सतपतियामा घरको आँगनमा बसेर आगो तापिरहेका दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरी रहेको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट आगो तापिरहेका दुई जनाको मृत्यु हुनाका साथै सोही ठाउँका ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु गम्भीर घाइते भएका छन् ।

दुवै जनाको अवस्था चिन्ताजनक भएकोले उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल लगिएको छ । चालकले अत्यधिक मदिरा सेवन गरी टिपर चलाएकाले अनियत्रित भई सडकदेखि उछिट्टिएर आँगनमा पुगेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

सुर्खेतको वीरेन्द्रनगरका चालक दुर्गा विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार