बाँकेका विद्यालय खुल्ने



नेपालगन्ज ।

कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गतेदेखि बन्द भएका बाँकेका विद्यालय खुल्ने भएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने परियोजनाका लागि विद्यालय खुल्ने भएका हुन् ।

विद्यालय खुले पनि पठनपाठन नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २० गतेपछि विद्यालय खोल्ने र नखोल्ने विषयमा सरकारको निर्णय पर्खिनु पर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाए ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि यहाँका विद्यालय बन्द भएका थिए । ‘पछि कोरोनाको जोखिम घट्दै गयो भने विद्यालय सञ्चालन गर्न सकिन्छ,’ प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘जोखिम बढ्दै गएको अवस्थामा विद्यालय खोल्न सकिँदैन ।’

विद्यालय खोप लगाउनलाई मात्र खोल्ने भएकाले पठनपाठन नहुने उनको भनाइ छ । नेपाल सरकारले १५ देखि २० गतेसम्म खोप अभियान भने पनि बाँकेका १९ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले बताए ।

उनका अनुसार करिब ६९ हजार विद्यार्थीलाई खोप लगाउने उद्देश्य छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १७ गते सोमबार