19 June 2024  |   बिहिबार, असार ७, २०८१

प्रारम्भिक जनगणना–२०७८ः दार्मा गाउँपालिकामा १० वर्षमा ३२ जनामात्रै बढे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ १७, २०७८  

नेपालगन्ज ।

२०६८ सालको जनगणनाअनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसंख्या १९ हजार नौ सय ६६ थियो । २०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसंख्या मात्र ३२ जनाले बढेको छ । यसभन्दा अघि गाउँपालिका आफैँले गणना गर्दा २३ हजार चार सय १८ जनसंख्या रहेको तथ्यांक निकालेको थियो ।

१० वर्षपछि भएको जनगणनामा दार्मा गाउँपालिकाको जनसंख्या ३२ जनाले मात्रै बढ्नु प्रारम्भिक गणनानै त्रुटिपूर्ण भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा उल्लेख्य बसाइँसराइ र अस्वाभाविक मृत्युदर पनि नभएको भन्दै गाउँपालिकाले गणकले त्रुटिपूर्ण तथ्यांक संकलन गर्दा आफ्नो पालिकाको यर्थात जनसंख्या आउन नसकेको बताएको छ ।

गाउँपालिकामा जन्मदर पनि ठिकै भएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । गाउँपालिकाका अध्यक्ष केसीले उक्त तथ्यांकप्रति सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका छन् ।

रोजगारीका लागि पालिका बाहिर भएका र विदेश गएकाको तथ्यांक संकलन नहुँदा पनि वास्तविक जनसंख्या नआएको उनी बताउँछन् । ‘विदेश र रोजगारी तथा अध्ययन र अन्य कामका लागि पालिका बाहिर भएकाको तथ्यांक संकलन गरिएको रहेनछ,’ उनले भने, ‘उनीहरुको तथ्यांक नहुँदा पनि यतिधेरै नघट्नु पर्ने हो ।’

गणकमा तथ्यांक शुद्धता र विश्लेषण गर्न सक्ने क्षमता नहुँदा पनि अस्वाभाविक कम जनसंख्या देखिएको गाउँपालिकाका सूचना अधिकारी शेरप्रसाद ढकालले बताए । सरकारले अनलाइनमार्फत गणनको फाराम संकलन गरेको थियो ।

यसभन्दा पहिला सरकारले शिक्षकहरुलाई गणकका रुपमा परिचालन गर्दै आएको थियो । ‘पहिलो अनुभवी र बौद्धिक व्यक्तित्वहरुले गणकका रुपमा काम गर्नुहुन्थ्यो,’ उनले भने, ‘तर यसपालि भौगोलिक अवस्थाको ज्ञान नभएका र तथ्यांकलाई विश्लेषण तथा शुद्धता गर्न सक्ने गणक भएनन् ।’ यो गम्भीररुपमा तथ्यांक संकलन नहुँदा त्रुटिपूर्ण तथ्यांक आएको उनको भनाइ छ ।

शैक्षिक सुधार सुझाव कार्यदलबाट शिक्षक तथा बौद्धिक व्यक्ति परिचालन गर्दा आएको तथ्यांकभन्दा धेरै कम तथ्यांक सार्वजनिक भएको गाउँपालिकाले जनाएको छ । ‘हामीले गणना गर्दा चार हजार एक सय २९ घरमा २३ हजार चार सय १८ जनसंख्या थियो,’ उनले भने, ‘अहिले त धेरै कम भयो ।’ दुई वर्षपछि गणना हुँदा त जनसंख्या बढ्नु पर्ने भन्दै उनी भन्छन्, ‘तर गाउँपालिकाको त जनसंख्या घट्यो ।’

भौगोलिक विकटताका कारण पहाडी बस्तीमा फिजिएर बनेका घरहरु हुन्छन् । एक घरबाट अर्काे घर पुग्न समय लाग्ने हुँदा गणकहरुले गणनानै गर्न छुटाएको जस्तो पनि देखिएको सर्वसाधारणहरुको भनाइ छ ।

प्रारम्भिक जनसंख्याअनुसार दार्मा गाउँपालिकामा चार हजार ६ घर संख्या छ । जो दुई वर्ष अगाडि गाउँपालिका आफैँले गणना गर्दा चार हजार एक सय २९ थियो । चार हजार दुई सय २० परिवार संख्या रहेको दार्मा गाउँपालिकामा नौ हजार ६ सय ९९ पुरुष र १० हजार दुई सय ९९ महिला रहेको प्रारम्भिक जनसंख्या सार्वजनिक भएको छ ।

प्रकाशित मितिः सोमवार, माघ १७, २०७८     2:04:50 PM  |