बर्दियामा बढ्दै सडक दुर्घटना



सञ्जय आचार्य । बर्दिया ।

जिल्लामा बढ्दो सवारीसाधनको प्रयोगसँगै यसबाट हुने क्षति पनि बढ्दै गएको छ । पछिल्लो समय बर्दियामा रोग, प्रकोपभन्दा पनि बढी सडक दुर्घटनाबाट मानिसको ज्यान जाने गरेको हो ।

सवारी दुर्घटना बजार एरियाभन्दा पनि खुला ठाउँमा हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । खुला ठाउँमा सवारीसाधन अत्यधिक तिव्र गतिमा चलाउने भएकाले दुर्घटना बढी हुने गरेको जल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख ईश्वर देवकोटाले बताए ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि चालु आर्थिक वर्ष २०७८/०८९ सम्ममा सवारी दुर्घटनाबाट जिल्लामा मात्र दुई सय ५१ वटा सवारी दुर्घटना भएका छन् ।

जसबाट तीन सय २१ जना घाइते भएका छन् भने एक सय २२ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा यति धेरै संख्यामा मृत्यु हुनु अस्वाभिक स्थिति भएको देवकोटाले बताए । गत आर्थिक वर्षमा ८९ वटा सवारी दुर्घटनाको भएको थियो । जसमा ३७ जनाले ज्यान गुमाएका थिए भने एक सय ४० जना घाइते भएका थिए ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३० वटा सवारी दुर्घटनाको संख्या रेकर्ड भएको छ । जसमा १४ जना मानिसको ज्यान गएको छ भने ७१ जना घाइते भएका छन् । जबसम्म नागरिक स्वयम्ले ट्राफिक नियमको पालना गर्दैनन् तबसम्म सवारी दुर्घटना न्यूनीकरण गर्न कठिन हुने प्रहरी हवल्दार कृष्ण डाँगी बताउँछन् ।

निश्चित स्रोतसाधन र जनशक्ति प्रयोग गरी काम गरिरहेको भन्दै उनले भने, ‘ट्राफिक नियमको पालना नगर्नेलाई कानुनको दायरामा ल्याइ जरिवानासमेत गर्ने गरेका छौं ।’ आफूहरु डिउटीमा रहेकाबेला प्रायजसो मोटरसाइल तिव्र गतिमा हुने र पैदलयात्री र साइकल यात्रीले पनि नियमको पालना नगरेको डाँगीले बताए ।

सडकको सही प्रयोग नहुनु पनि दुर्घटनाको मुख्य कारण भएको उनी बताउँछन् । सवारी दुर्घटना न्यूनीकरण गर्न स्थानीय सरकारले पनि आफ्नो ठाउबाट भूमिका खेल्नु पर्ने देखिन्छ । सडक विभाग र यातायात कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्नसमय समयमा गाडीको चेकजाचँमा कडाइ गर्नुपर्ने गुलरियाका मोहम्मद अहमदले बताए ।

‘गम्भीर भएर सवारीसाधन नचलाउँदा दुर्घटना हुने गरेका छन्,’ उनले भने, ‘कतिपय दुर्घटना त सडकको अवस्था कमजोर हुँदा पनि हुन्छन् ।’ राज्यले पूर्वाधार निर्माण गर्ने र नागरिकले गम्भीर भएर यातायातका साधन चलाउने हो भने यसबाट हुने क्षति कम गर्न सकिने उनी बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १७ गते सोमबार