20 June 2024  |   बिहिबार, असार ७, २०८१

महानगर र उपमहानगर सपनाः नेपालगन्जकै परिस्थितिमा कोहलपुर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ १५, २०७८  

कोहलपुर ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले कोहलपुर नगरपालिकालाई गाभेर महानगरपालिका बनाउने ठूलो कसरत ग¥यो । उक्त पहल अहिले पनि जारी छ । तर, नेपालगन्ज उपमहानगरपालिकाको उक्त प्रस्तावलाई कोहलपुरले सहजै अस्वीकार गरिदियो ।

त्यस लगत्तै कोहलपुरले आफैँ उपमहानगरपालिका बनाउन पहल गर्ने चालू आर्थिक वर्षको आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेका छ । जसका लागि बैजनाथ र राप्तीसोनारी गाउँपालिकासँग समन्वय गर्ने भनिएको छ । आफू एक्लै उपमहानगरपालिकाको गन्तव्य भेटाउन नसक्ने र सीमा जोडिएका गाउँपालिकालाई सहभागी बनाएर कोहलपुर नगरपालिकाको उपमहानगरपालिका बन्ने योजना थियो ।

तर हालै सार्वजनिक भएको प्रारम्भिक जनसंख्याअनुसार कोहलपुरलाई नेपालगन्ज जस्तै परिस्थिति सिर्जना भएको छ । नेपालगन्जसँग मिलेर महानगर यात्राजाँदा आफ्नो अस्थित्व समाप्त हुने कोहलपुरको धारणा थियो ।

अहिले बैजनाथ र राप्तीसोनारी गाउँपालिका कोहलपुरमा मिसिँदा आफ्नो अस्तित्व मासिने सोंचमा पुगेका छन् । कोहलपुरले नेपालगन्जलाई दिएजस्तै जवाफ बैजनाथ र राप्तीसोनारीले दिन सक्ने सम्भावना बलियो छ । प्रारम्भिक जनसंख्याअनुसार अब यी दुई गाउँपालिका नगरपालिका उन्मुख भएका छन् ।

नगरपालिका बनाउन ६० हजार जनसंख्या आवश्यक पर्छ । यी दुवै गाउँपालिकाको जनसंख्या अहिले ६० हजारभन्दा माथि छ । नगर तथा उपमहानगरपालिका बन्ने जनताको इच्छा र चाहनानुसार हुनुपर्ने कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए । जनसंख्याको हिसाबले बैजनाथ र राप्तीसोनारी गाउँपालिका नगरपालिका बन्ने स्थितिमा पुगे पनि सुविधाका हिसाबले कोहलपुर नै उपयुक्त भएकाले नीति तथा कार्यक्रमअनुसार नै उपमहानगरपालिका बनाउन पहल सुरु गर्ने उनको भनाइ छ । यसका लागि बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिसँग बैठक बस्ने तयारी भएको उनले जानकारी दिए ।

‘राप्तीसोनारीको अगैयादेखि उत्तर र पश्चिमतर्फको क्षेत्र कोहलपुरमा गाभिन चाहान्छन्,’ उनले भने, ‘यो नै उपयुक्त हुन्छ ।’ बैजनाथ नगरपालिका बन्न सके पनि राप्तीसोनारी भने जनसंख्या पुगे पनि सेवासुविधाका हिसाबले नगरपालिका बन्न गाह्रो हुने भन्दै उनले भने, ‘राप्तीसोनारीको विकटताले नगरपालिका बन्न गाह्रो होला । त्यसैले उपमहानगरपालिकामै जोडिँदा राम्रो हुन्छ ।’

बैजनाथ र राप्तीसोनारीले नगरपालिका बनाउने योजना अगाडि सारे अब कोहलपुर नेपालगन्जसँग मिसिएर महानगरको यात्रामा जान सक्ने बाटो खुला रहन्छ कि रहँदैन भन्ने मिसन टुडेको प्रश्नमा मेयर रावतले भने, ‘त्यो सब जनतामा भर पर्छ । यहाँका जनताले नेपालगन्जसँग मिसिएर महानगरपालिकामा जाने भने पछि हामी जनप्रतिनिधिले असहमति जनाउने ठाउँ नै हुँदैन ।’

जनसंख्या मात्र मापदण्ड होइन

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका हुन जनसंख्या मात्र मापदण्ड होइन । यसका लागि आन्तरिक आय, भौगोलिक सुगमता, प्राकृतिक स्रोत, पूर्वाधारलगायतका मापदण्ड छन् ।

यसभन्दा अघि देशका कतिपय स्थानमा बनाइएका नगरपालिका भने कुनै मापदण्ड नै पूरा छैनन् । गाउँपालिकामा न्यूनतम तीन र नगरपालिकाका लागि न्यूनतम पाँचवटा बजार केन्द्र हुनुपर्छ ।

सम्भव भएसम्म पानीढलो मिल्ने गरी गर्ने, भौगोलिक निरन्तरता नटुट्ने गरी गर्ने र बस्ती विस्तारित हुँदै जोडिन सक्ने सम्भावनायुक्त क्षेत्र भएमा सम्भव भएसम्म एउटै क्लस्टरमा राख्नेलगायतका मापदण्ड छन् ।

पहिला अस्थित्व जोगाउनुपर्छ
मानबहादुर रुचाल ठकुरी
अध्यक्ष, बैजनाथ गाउँपालिका

कोहलपुर नगरपालिकाले उपमहानगरपालिका बनाउन पहल गर्ने भन्ने विषय जानकारी छ । बैजनाथमा त्यो नीतिगत छलफल भएको छैन । यहाँका राजनीतिक दलहरुसँग छलफल भयो भने मात्र हाम्रो धारणा आउँछ । त्यसपछि आफैँ नगरपालिका बन्ने की कोहलपुरसँग गाभिने भन्ने विषयमा सहमति, असहमति आउलान् ।

फेरि महानगर, उपमहानगर हुँदैमा सबै बस्तीबस्ती कायापलट हुन्छन् भन्ने नै छैन । अर्काे कुरा पहिला त जो पनि आफ्नो अस्तित्व बचाउन लाग्छ । बैजनाथको आफ्नै अस्तित्व छ । यसको संरक्षण पनि गर्नु छ । बैजनाथ गाउँपालिकाको नगरपालिका बन्ने मापदण्ड पूरा भए नगरपालिका बन्ने विषय स्वभाविकै हुन्छ र हो ।

नेपालगन्ज आफैँ असक्षम

नेपालगन्ज आफैँ महानगरपालिका बन्न सक्षम छैन । पहिलो कुरा त महानगरपालिका बन्न तीन लाख जनसंख्या आवश्यकपर्छ । नेपालगन्जको जम्मा जनसंख्या एक लाख ६६ दुई सय ५८ छ । महानगरका लागि नेपालगन्ज अरु कुनै स्थानीय तहसँग जोडिनैपर्छ । नेपालगन्ज र कोहलपुर जोडिएर मात्रै पनि महानगरपालिका बन्न सक्दैन ।

नेपालगन्जले कोहलपुरसँगै अन्य अर्काे जुनसुकै स्थानीय तहसँग भए पनि जोडिन आवश्यक छ । अहिले नेपालगन्जको प्रारम्भिक जनसंख्या एक लाख ६६ हजार दुई सय ५८ छ भने कोहलपुरको जनसंख्या एक लाख दुई सय ८९ छ । यो दुवै जोड्दा दुई लाख ६६ हजार पाँच सय ४७ पुग्छ । महानगरपालिकाका लागि ३३ हजार चार सय ५३ संख्या थप आवश्यक पर्छ ।

खजुरा, बैजनाथ र राप्तीसोनारी नगरपालिका उन्मुख

नेपालगन्जसँग गाभिएर जाँदा कोहलपुरको अस्थित्व समाप्त हुने भन्दै कोहलपुरलाई उपमहानगरपालिका बनाउन पहल गर्ने कोहलपुर नगरपालिकाको नीति तथा कार्यक्रममै उल्लेख गरिएको छ । बैजनाथ र राप्तीसोनारी गाउँपालिकासँग समन्वय गरेर कोहलपुरलाई केन्द्र बनाउँदै उपमहानगरपालिकाको तयारीमा कोहलपुर लागेको छ ।

तर बैजनाथ र राप्तीसोनारी आफैँ नगरपालिका बनाउन सक्षम छन् । प्रारम्भिक तथ्यांकअनुसार यी दुई गाउँपालिकाको जनसंख्या नगरपालिकालाई आवश्यक पर्ने मापदण्ड पुग्छ । नगरपालिका बनाउन ६० हजार जनसंख्या आवश्यक छ । हालै सार्वजनिक भएको प्रारम्भिक जनसंख्याअनुसार बैजनाथको जनसंख्या ७० हजार तीन सय १५ छ भने राप्तीसोनारीको जनसंख्या ६७ हजार सात सय ८२ छ ।

यी दुवै नगरपालिकाले आफ्नो पहिलो प्राथमिकता भनेको अर्काेसँग गाभिनेभन्दा आफ्नो अस्तित्व बचाउने योजनामा छन् । यता खजुरा गाउँपालिका पनि नगरपालिका उन्मुख छ । खजुराको जनसंख्या ६३ हजार सात सय ४९ छ । यी तीनै स्थानीय तहले नगरपालिका दाबी गरे र सरकारले नगरपालिका बनाउने निर्णय गरे बाँकेको नगरपालिका संख्या चार पुग्ने छ ।

‘नगरपालिका बनाउन लाग्छौं’
महावीर ओली
वडाध्यक्ष, राप्तीसोनारी गाउँपालिका–९

कोहलपुरसँग जोडिने विषयमा अहिलेसम्म बहस भएको छैन । राप्तीसोनारी नेपालगन्जसँग मिसिएर महानगरमा जाने भन्ने त सम्भव नै छैन । कोहलपुरसँग मिसिएर उपमहानगरमा जाने भन्ने कुरा पनि त्यति सान्दर्भिक हुँदैन । राप्तीसोनारीको आफ्नै भुगोल, पहिचान र वातावरण छ । यसलाई समाप्त पारेर अर्काेसँग मिसिन जान सकिँदैन ।

अहिले मान्छे अगैया आउन त टाढा भयो भन्दै छन्, भोलि कोहलपुरसँग मिसिएर त्यहाँ पुग्दा के भन्लान् ? अर्काे कुरा गाउँमा पुगेको सिंहदरबार सहर केन्द्रित गर्ने भन्ने हुँदैन । पहिलो कुरा हामी आफैँ नगरपालिका बनाउने विषयमा पहल गर्छाैं ।

नगर, उपमहानगर र महानगरपालिका बनाउन आवश्यक पर्ने मापदण्ड

नगरपालिका

– आफ्नो क्षेत्रभित्र ल्याण्डफिल साइट हुनुपर्ने वा सो नभएमा भरपर्दा वैकल्पिक व्यवस्था सुनिश्चित भएको हुनु पर्नेछ ।
– खुला क्षेत्र भएको र पार्क उद्यान भएको वा हुन सक्ने भएको हुनु पर्नेछ ।
– हाटबजार क्षेत्र भएको वा राख्न पर्याप्त ठाउँ भएको हुन पर्नेछ ।
– कम्तिमा एक स्वास्थ्य केन्द्र भएको हुनु पर्नेछ ।
– दमकल, एम्बुलेन्स सेवासहितको कार्यालय स्थापना गर्न आवश्यक जग्गा पर्याप्त भएको हुनु पर्नेछ ।
– साना, मझौला र ठूला उद्योग सञ्चालनमा रहेका हुनु पर्नेछ ।
– सञ्चार, विद्युत् र सडक यातायात सेवा उपलब्ध भएको हुनु पर्नेछ ।
– बैंक तथा वित्तीय संस्था भएको हुनु पर्नेछ ।
– खेल मैदान भएको हुनु पर्नेछ ।
– बसपार्क भएको वा सोको लागि आवश्यक जग्गा भएको हुनु पर्नेछ ।
– खानेपानी तथा ढल निकासको व्यवस्था भएको हुनु पर्नेछ ।
– सार्वजनिक शौचालय भएको हुनु पर्नेछ ।
– सामुदायिक भवन वा सभाहल भएको हुनु पर्नेछ ।
– व्यवस्थित पशुबधशाला हुनु पर्नेछ ।

उपमहानगरपालिका

– नगरपालिकाका लागि चाहिने सबै पूर्वाधार हुनु पर्नेछ ।
– दुई सय सैयाको अस्पताल भएको हुनु पर्नेछ ।
– रंगशाला वा खेलमैदान र कभर्ड हल भएको हुनु पर्नेछ ।
– सभाहल भएको हुनु पर्नेछ ।
– फोहरमैला प्रशोधन केन्द्र र अन्त्यष्टीस्थल भएको हुनु पर्नेछ ।
– सुविधा सम्पन्न होटल भएको हुनुपर्नेछ ।

महानगरपालिका

– उपमहानगरपालिका र नगरपालिकाका लागि चाहिने सबै पूर्वाधार हुनुपर्नेछ ।
– पाँच सय सैयाको विशेषज्ञ सेवासहितको अस्पताल भएको हुनुपर्नेछ ।
– रंगशाला भएको हुनु पर्नेछ ।
– प्राविधिक शिक्षालय भएको हुनु पर्नेछ ।
– संग्रहालय भएको हुनु पर्नेछ ।
– टर्मिनलसहितको बसपार्क हुनु पर्नेछ ।
– तरकारी तथा फलफूल बिक्री केन्द्र भएको हुनु पर्नेछ ।
– कम्तिमा एक सपिङ मल हुनु पर्नेछ ।

 

प्रकाशित मितिः शनिबार, माघ १५, २०७८     10:53:19 AM  |