20 June 2024  |   बिहिबार, असार ७, २०८१

चोरीका घटना बढेपछि बर्दिया प्रहरीको सक्रियता, धमाधम पक्राउ पर्दै चोर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८  

बर्दिया ।

पुस २२ गते बर्दियास्थित ठाकुरबाबा नगरपालिका–९ बग्नाहास्थित शिव सुनारको नारायण सुनचाँदी पसलमा राति १ बजे चोरी भयो । १३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनचाँदी तथा नगद लुटपाट भयो ।

उक्त घटना भएको साता दिन नबित्दै पुनः बढैयाताल–८ शीतला बजारस्थित बर्दिया सुनचाँदी व्यवसायीको घरमा लुटपाट भयो । लुटेराहरुले घरका परिवारलाई कुटपिट गरी बन्धक बनाई चार लाख ५५ हजार रुपैयाँ बराबरको नगद तथा गरगहना लुटपाट गरेका थिए ।

सोहीबेला लगातार ठूला चोरीका घटना हुन थालेपछि बर्दियाका सुनचाँदी व्यवसायीले जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापनपत्र नै बुझाउनु प¥यो । त्यसले जिल्लाभर नै प्रहरीले चोरीका घटना बढ्न थालेपछि आफ्नो सक्रियता पनि बढायो ।

सोही क्रममा प्रहरीले बारबर्दिया नगरपालिका–७ मा रहेको किराना पसलको भित्ता फोडी नगद तथा रिचार्ज कार्डहरु गरी २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी फरार रहेका छविलाल जैसीलाई पक्राउ गरेको छ ।

मधुवन नगरपालिका– ५ स्थित घरबाट कोही नभएको समयमा घरभित्र पसी बाकस तोडफोड गरी २ लाख ४० हजार रुपैयाँ बराबरको नगद तथा सुनका गरगहना चोरी गरेर फरार रहेका मधुवन–६ का २१ वर्षीय विशाल खड्का र विजय खड्का, वडा नम्बर ८ का २२ वर्षीय सुरज ओलीलाई पक्राउ गरेको छ ।

उनीहरुलाई बाँकेको नेपालगन्ज र बर्दियाको सानोश्री क्षेत्रबाट पक्राउ गरिएको थियो । उनीहरुमाथि चोरीसम्बन्धी कसुरमा मुद्दा चलाई आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए । विशेष गरी लागुऔषधको कुलतमा फसेका युवाहरु चोरी कार्यमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

‘जिल्लामा हुने चोरीका घटनाहरु नियन्त्रण गर्दै चोरी कार्यमा संलग्न व्यक्तिहरुलाई पक्रन हामीले प्रहरी सक्रियता अघि बढाएका छौं,’ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले भने, ‘गस्ती बढाएका छौं ।

अलग्गै प्रहरी परिचालन गरेका छौं । सीमा क्षेत्रमा पनि कडाइका साथ शोधखोज कार्य अघि बढेको छ ।’ सुन पसल चोरीमा संग्लनहरु भने प्रहरीले अझैसम्म पनि पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८     8:51:26 PM  |