कोहलपुर मेडिकल कलेजको लापरबाहीः गर्भवती महिलाको उपचारमा खेलाँची



नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरी व्यथा लागेका महिलाको उपचारमा खेलाँची भएको उनीहरुका आफन्तहरुले जनाए ।

गर्भवती महिलालाई न्यानो ठाउँमा राख्नुको साटो कोरोना रिपोर्टको बहानामा चिसोमै राख्ने गरिएको सर्वसाधारणहरुको भनाइ छ । यसले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बिरामीको उपचारमा गम्भीर नभएको उनीहरु बताउँछन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

दाङको तुलसीपुर–१३ की अनिसा चौधरीलाई शनिबार साँझ सुत्केरी व्यथाले च्याप्यो । लगत्तै परिवारले तुलसीपुर अञ्चल अस्पतालमा पु¥याए । केही घण्टापछि अस्पतालले चौधरीलाई बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर ग¥यो ।

राति नै एम्बुलेन्समा राखेर साढे तीन बजे उनीहरु कोहलपुरका लागि हिँडे । आफन्त कल्पना चौधरीका अनुसार एम्बुलेन्सले साढे पाँच बजेतिर अस्पतालमा पु¥यायो । तर, रातभर कष्टकर यात्रा गरेर आएकी अनिसालाई अस्पतालले भर्ना गर्न मानेन ।

‘हामी यहाँ आउन बित्तिकै एकैछिन राख्यौं । आरडीटी नगरेसम्म भित्र राख्न मिल्दैन भन्नुभयो,’ उनले भनिन्, ‘हामी बाहिरै बस्यौँ । बिहान १० बजे स्वाब लियो । दिउँसो १ बजे रिपोर्ट आयो । अहिले पनि पालो कुरिरहेका छौं ।’ मिसन टुडे दैनिक साढे तीन बजे अस्पताल पुग्दा अनिसाका आफन्त ‘लेबर वार्ड’ बाहिर पालो करिरहेका थिए । अचम्म त के भने, केही समयपछि सुत्केरी व्यथाले च्यापेर सकसमा रहेकी अनिसा अप्ठ्यारो अवस्थामा आफन्त भएकोमा आइपुगिन् ।

उनले भनिन्, ‘भित्र राम्रो केयर नै गरेका छैनन् । अझै मेरो तीनजनापछि पालो आउँछ भनेको छ ।’ राम्रोसँग बोल्नसमेत नसकिरहेकी उनी वार्ड बाहिर आफ्नो पालो कुर्दै यताउता गरिरहेकी थिइन् । सुत्केरी हुने जस्तो पीडादायी अवस्थामा अस्पतालमा आउँदा उनीहरुले आरडीटी नहुँदा र पीसीआर रिपोर्ट आइसकेपछि पनि गुणस्तरीय सेवा नपाएको कल्पनाले गुनासो गरिन् ।

यस्तै समस्या दाङको बबई–४ का चन्द्रबहादुर विकले पनि भोगे । श्रीमती उमा विकलाई पेट दुःखेपछि उनले गाउँ नजिकैकै अस्पतालमा लिएका थिए । स्वास्थ्यकर्मीले कोहलपुरमै रिफर गरिदिए । उनीहरु शनिबार बिहान ४ बजे कोहलपुर पुगेका थिए ।

‘लामो समय भइसक्यो, डेलीभरी नै भएको छैन । बिहानै पुगेको भर्ना नै लिएन । आरडीटी रिपोर्ट चाहिन्छ भन्छ,’ उनले भने, ‘लगत्तै स्वाब संकलन गरे । तर, मैले ३ बजेमात्रै रिपोट पाएको हुँ । भर्खरै भित्र लिएको छ । खै कतिबेला के हुने हो थाहा छैन ।’ राति एम्बुलेन्समा ल्याएकी उमालाई लामो समय भर्ना नगराएका कारण समस्या पर्ने पो होकी भन्ने भयले चन्द्रलाई सताएको छ ।

यसैगरि कोहलपुर–२ की एक महिला पनि आफ्नो छोरीलाई लिएर अस्पतालमा आएकी थिइन् । आइतबार बिहान अस्पताल आएकी उनले अस्पतालको सेवा बिरामीमुखी नभएको बताइन् । नाम नबताउने सर्तमा उनले अस्पतालमा धेरै समस्या रहेको बताइन् । यहाँ धेरै समस्या छन्, जस्तो इमरजेन्सी बिरामी भए पनि वास्तै गरिँदैन । छोरीको सुरक्षित सुत्केको लागि चार÷पाँच घण्टा अस्पतालमा बस्दा आफूले धेरै दुःख पाएको उनको भनाइ छ ।

अन्य बिरामीभन्दा पनि सुत्केरी अवस्थाका बिरामीको राम्रोसँग हेरचाह गर्नुपर्ने उनले बताइन् । अहिले अनिवार्य पीसीआर रिपोट अनिवार्य भनेकाले बिरामीले झन दुःख पाएको उनले जानकारी दिइन् । शिक्षण अस्पताल कोहलपुर नेपाल सरकारको ‘आमा सुरक्षा कार्यक्रम’ लागू गरेको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरी व्यथा लागेका महिलाको उपचारमा खेलाँची भएको उनीहरुका आफन्तहरुले जनाए । गर्भवती महिलालाई न्यानो ठाउँमा राख्नुको साटो कोरोना रिपोर्टको बहानामा चिसोमै राख्ने गरिएको सर्वसाधारणहरुको भनाइ छ । यसले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बिरामीको उपचारमा गम्भीर नभएको उनीहरु बताउँछन् ।

‘मलाइ केही थाहा छैन’
भोजराज जोशी
डाइरेक्टर, शिक्षण अस्पताल कोहलपुर

सुत्केरीलाई आरडीटीबिना अस्पतालमा छिर्नसमेत किन दिइँदैन ? भन्ने मिसन टुडे दैनिकको प्रश्नमा अस्पतालका डाइरेक्टर भोजराज जोशीले आफूलाई यस विषयमा जानकारी नै नभएको बताए । उनले भने, ‘त्यस्तो त छैन । भोलि अफिस आएर कुराकानी गर्नुहोस् न । मलाई स्टेन प्रसिमन छैन । जानकारी चाहिने हो भने भोलि अफिस नै आउनु होला । मलाई खास्सै जानकारी छैन । मैले पनि बुझ्नुर्छ ।’

पहिलोपटक टेलिफोनमा कुराकानी गर्दा आफू विदामा रहेको र आइतबार मात्रै अफिसमा आएकोले धेरै कुरा थाहा नभएको उनको भनाइ थियो । तर, केही समयपछि आफैँ फोन गरेर उनले सुत्केरी अवस्थामा अस्पतालमा आउने बिरामीको आरडीटी टेस्ट गर्ने गरेको स्वीकार गरे ।

‘टेस्ट अनिवार्य गराउँछौं । टेस्ट भएन भने कसैलाई रिफ्युज (फर्काउने) गराउँदैनौँ । कतिपय अवस्थामा तुरुन्तै डेलिभरी गराउँछौं । डेलिभरीपछि पनि टेस्ट गराउँछौँ,’ उनी भन्छन् । टेस्ट नभएको आधारमा कसैलाई रिफ्युजन गरिएको उनको दाबी थियो ।

सेवाबाट वञ्चित गरिनु गलत
धीरजंग शाह

(प्रमुख), स्वास्थ्य कार्यालय,बाँके

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सबै सुविधा पाएको छ । यसबारे सबै प्रक्रिया पूरा गर्ने सम्झौतासमेत भएको छ । आमा सुरक्षाका हिसाबले गर्भवती महिलाले सेवा माग्न (लिन) आएपछि दिनुपर्छ । यस्तो अवस्थामा अस्पतालले अतिरिक्त टेस्टका नाममा अल्झाउन पाउँदैन ।

अहिले कोरोनाको अवस्था छ । यस्तोबेला कुनै पनि लक्षण देखिएको छ की भनेर अस्पतालले भन्न सक्छ । तर अनिवार्य रिपोर्ट हुनुपर्छ, नत्र उपचार गराउनै नपाउने भन्ने हुँदैन । रिपोर्ट अनिवार्य ल्याउनुपर्छ भन्न मिल्दैन । रिपोर्ट महŒवपूर्ण होइन ।

मानिसको जीवन ठूलो कुरा हो । महिलाको ज्यानको जोखिम भएको हुन्छ । अस्पताल टेस्ट र वा रिपोर्टको पछि लाग्न मिल्दैन । रिपोर्ट नभएर मातृ सेवा लिन नपाउनु गम्भीर हो । सेवाबाट वञ्चित गरिनु गलत हो । यो त हकविरुद्धको कुरा भयो ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रबार