19 June 2024  |   बिहिबार, असार ७, २०८१

पाटेबाघको संख्या दोब्बर बनाएबापत बर्दिया निकुञ्जलाई डब्ल्यूडब्ल्यूएफको टीएक्स–२ अवार्ड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८  

कोहलपुर ।

बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) को महŒवपूर्ण पुरस्कार पाउने भएको छ । सन् २०१० यता पाटेबाघको संख्या दोब्बर बनाएबापत बर्दिया निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्सटु पुरस्कार पाउने भएको हो ।

पाटेबाघ संरक्षणको उत्कृष्ट कामको लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिने डब्ल्यूडब्ल्यूएफ नेपालले जानकारी दिएको छ । खाता संरक्षण क्षेत्रले नेपाल–भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ ।

यो पुरस्कार यसै वर्षको सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक सहरमा हुने बाघ संरक्षणसम्बन्धी समारोहको अवसर पारेर प्रदान गरिनेछ । सन् २००९ मा बर्दियामा बाघको संख्या २० भन्दा थोरै रहेकोमा सन् २०१८ मा बढेर झन्डै ८७ पुगेको थियो ।

भारतको सत्यमंगलम् टाइगर रिजर्भले पनि पाटेबाघको संख्या दोब्बर बनाएबापत बर्दिया निकुञ्जसँगै पुरस्कार जितेको छ । सत्यमंगलम् टाइगर रिजर्भमा सन् २०११ मा २५ वटा बाघ रहेकोमा अहिले बढेर ८० को हाराहारीमा पुगेको डब्ल्यूडब्ल्यूएफले जनाएको छ ।

टाइगर्स अलाइभ इनिसिएटिभका प्रमख स्टुअर्ट च्यापम्यानले बाघ संरक्षणमा स्थानीयवासीले देखाएको संरक्षण निकै तारिफयोग्य र असाधारण रहेको बताए । यस्तै एकीकृत आवास कार्यक्रम आइयूसीएनका संयोजक सुगोतो रोयले बाघको बासस्थानको सुधार, सिकारीको कडा अनुगमन र स्थानीयवासीको इमान्दारिताका कारण बाघ संरक्षणमा राम्रो नतिजा देखिएको र यसबाट बाँकी विश्वले पाठ सिक्नुपर्ने बताएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना भएको हो । सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो ।

बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भागसमेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यस निकुञ्जको मध्यवर्ती क्षेत्र २०५३ मा घोषणा भएको थियो । सुरुमा तीन सय २७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा एक सय ८० वर्ग किलोमिटर थप गरी सखुर्ते तर्फ विस्तार गरिएको छ ।

निकुञ्जअन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगा र जंगली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यस निकुञ्जमा पाइन्छन् ।

जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा बर्सेनि पर्यटकको संस्था बढिरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पृथक तीन किसिमको हावापानी हुने गर्छ ।

आश्विनदेखि फागुनसम्म मौसम सुख्खा हुन्छ, यो समयमा दिनहरू न्यानो हुन्छन् भने रात ठन्डा रहने गर्छ । वैशाखदेखि असार महिनासम्म गर्मी मौसम हुन्छ, यतिबेला यहाँको तापक्रम बढेर ४५ डिग्री सेन्टिग्रेटसम्म पुग्ने गर्छ । त्यसपछिका महिनामा भारी वर्षातको मौसम सुरु हुन्छ । यहाँको माटो एकदमै कोमल भएको हुँदा वर्षातमा धेरै हिलो हुन्छ ।

प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८     12:29:36 PM  |