नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यलाई गत माघ ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भयो। कोरोनाको तेस्रो लहर तीव्र गतिमा फैलिरहेका बेला संक्रमण पुष्टि भएपछि दुवैजना बालकोटस्थित होम आइसोलेसनमा बसेका थिए।
दुवैजना हालसम्म कोरोनाबाट मुक्त भइसकेका छैनन्। अर्थात् उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको जानकारी छैन।
कोरोना संक्रमणबाट मुक्त नभइसकेको अवस्थामा नेपाल सरकारले जारी गरेको कोभिड-१९ संक्रमितहरुको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड-२०७७ पालना नगरि सार्वजनिक कार्यक्रममा भाग लिन थालेका छन्।
बुधबार मात्रै ओली बालकोटस्थित निवासनजिकै आयोजित रक्तदान कार्यक्रममा पुगेर भीडभाडमा मिसिए। एमालेनिकट राष्ट्रिय युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ओली पुगेका थिए।
यो कार्यक्रम युवा संघले ओली छिटोभन्दा छिटो कोरोनाबाट मुक्त होउन् भनेर आयोजना गरिएको हो। युवा संघमा बस्नेतको निर्देशमा एउटा समूहलाई पाखा लगाएपछि विवाद भइरहेका बेला ओलीलाई रिझाउने योजनासहित संयोजक पौडेलले यो कार्यक्रम गरेका थिए।
ओलीसँगै पत्नी राधिका शाक्य पनि रक्तदानस्थल पुगेकी थिइन। कार्यक्रमस्थलमा एमाले पोलिटब्युरो सदस्य तथा युवा संघका इञ्चार्ज महेश बस्नेत, युवा संघ संयोजक किरण पौडेललगायत नेता कार्यकर्ताहरु थिए। उनीहरुले ओलीलाई त्यहाँ स्वागतसँगै भेटघाट र भलाकुसारी पनि गरे।
कोभिड–१९ संक्रमितहरुको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड–२०७७ को परिच्छेद ३ मा आइसोलेसनबाट छुट्ने मापदण्ड तोकिएको छ।
उक्त मापदण्ड अनुसार लक्षण तथा चिन्हहरू नदेखिएको केसको हकमा आइसोलेसन बसेको १४ दिनपछि निस्किन पाइने उल्लेख छ।
त्यस्तै सामान्य लक्षण तथा चिन्ह देखिएको अवस्थामा कम्तीमा १४ दिनपछि वा चिन्हहरू पूर्ण निको भएको ३ दिनपछि मात्रै अस्पताल या आइसोलेसनबाट निस्किन सक्ने उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्