13 June 2024  |   शुक्रबार, असार १, २०८१

बाँकेको सम्झनामा पूर्व पश्चिम राजमार्ग समयमै स्तरोन्नति नहुँदा सास्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८  

ज्ञानमाया थापा । कोहलपुर ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको सम्झनामा सडक बिग्रिँदा सवारी आवागमनमा सास्ती भएको छ ।

केही समयअघि मात्र सडक स्तरोन्नतिका नाममा सडक भत्काइएको थियो । सडक भत्काइए पनि समयमै स्तरोन्नति नहुँदा सवारीसाधनलाई आवतजावतमा समस्या भएको हो ।

केही दिनयता परेको हिउँदे झरिका कारण सडक झनै बिग्रिएको सम्झना प्रहरी चौकीका ईन्चार्ज जितेन्द्र जिसीले जानकारी दिए । ‘पहिले धुलोको मात्रै समस्या भए पनि अन्य समस्या थिएन,’ उनले भने, ‘पानी परेपछि सडक हिलाम्मे हुँदा सवारीसाधन फस्ने समस्या धेरै देखियो ।

दुई-तीन दिन त अझ धेरै समस्या भयो ।’ सडकमा फसेका सवारीसाधनलाई निर्माण कम्पनीको जेसिबी प्रयोग गरेर निकाल्ने गरिएको उनले बताए । सम्झना बजारको चोक क्षेत्रमा नै करिब चार सय मिटर सडक खण्डमा यस्तो समस्या देखिएको छ ।

सवारीसाधनलाई मात्र होइन आवजावतमा स्थानीयहरुलाई पनि समस्या हुने गरेको छ । थोरै क्षेत्रमा रहेका खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण सवारी सञ्चालनमा समस्या हुने गरेको सवारी चालक विकास खत्रीले बताए ।

‘पानी नपर्दासम्म धुलोको समस्या थियो, अहिले पानी परेपछि हिलो र खाल्डाखुल्डीले समस्या बनाएको छ,’ उनले भने, ‘मालबहाक गाडीहरु त्यहाँ धेरै हिलोमा फसेको देखिन्छ ।’ हिलो र खाल्डाखुल्डीको मारमा साइकल, मोटरसाइकल, साना चार पांग्रे सवारीसाधन र सर्वसाधारणहरु परेका छन् ।

प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८     9:42:00 AM  |