नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले सम्भावित विभिन्न प्रकोप तथा महामारीजन्य रोग रोकथाम र नियन्त्रणका लागि तत्काल परिचालन हुने गरी टीम गठन गरेको छ ।
बुधबार प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको अध्यक्षतामा बसेको नगरस्तरीय जनस्वास्थ्य आपतकालीन व्यवस्थापन समितिको बैठकले सुवेदीको संयोजकत्वमा विभिन्न शाखाका प्रमुख सम्मिलित समिति गठन गरेको हो ।
बैठकले जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतको संयोजकत्वमा रेपिड रेस्पोन्स टीमसमेत गठन गरेको थियो । स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जनस्वास्थ्य आपतकालीन व्यवस्थापन समिति वडास्तरमा रहेका स्वास्थ्य केन्द्रसम्म गठन गरिने जानकारी दिए ।
‘तत्काल कोभिड–१९ रोकथाम र नियन्त्रणमा जोड दिइए पनि यसले नियमितरुपमा अन्य समयमा पनि काम गर्नेछ,’ उनले भने, ‘सम्भाव्य प्रकोप र महामारी रोकथाम र नियन्त्रणका लागि समितिले योजनाबद्धरुपमा विभिन्न पूर्व तयारी गर्छ ।’
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नेपालगन्ज उपमहानगरपालिकाका पश्चिम नेपालकै अग्रणी सहर भएका कारण यसले प्रकोप तथा महामारी नियन्त्रणका लागि अन्य स्थानीय तहले अनुशरण गर्ने गरी योजना बनाइ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
‘कोभिड–१९ संक्रमणपछि घरमै आइसोलेसनमा बसेका व्यक्तिहरुको स्वास्थ्यबारे दैनिक स्वास्थ्यकर्मीले फोनमार्फत जानकारी लिनुपर्छ,’ उनले भने, ‘विपदमा खटिएका स्वास्थ्यकर्मीलगायत सबैका लागि न्यूनतम सेवा सुविधा उपलब्ध गराउन उपमहानगरपालिका तयार छ ।’
प्रतिक्रिया दिनुहोस्