19 June 2024  |   बिहिबार, असार ७, २०८१

१५ वर्षअघिको चुम्बन प्रकरणबाट शिल्पालाई राहत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १२, २०७८  

मुम्बई ।

डेढ दशकअघि अभिनेत्री शिल्पा शेट्टीलाई सार्वजनिक कार्यक्रममा हलिउड कलाकार रिचर्ड गेरेले चुम्बन गरेपछि उनीहरू दुवैजना विवादितमात्र बनेन् अदालतमै मुद्दा नै दायर भएको थियो ।

अन्तत: १५ वर्षपछि मुम्बईको अदालतले सोही मुद्दाको छिनोफानो गरेको छ ।

हालै एक लाइभ ल रिपोर्टमा शिल्पालाई महानगरीय मजिस्ट्रेट केतकी चौभानले यस मुद्दामा राहत दिएको खुलासा गरेका छन्, “अभियुक्त शिल्पा शेट्टी अभियुक्त नं. १ (रिचर्ड गेरे)द्वारा पीडित देखिन्छ ।

उजुरीमा कुनै पनि कथित अपराधको एक तत्व पनि सन्तुष्टत देखिएको छैन । यस मुद्दासँग सम्बन्धित प्रतिवेदन र कागजातहरू अध्ययन पश्चात मजिस्ट्रेटले गत हप्ता शिल्पा विरुद्धको आरोप ‘निराधार’ भएको र उनलाई अपराधबाट मुक्त गरेको जानकारी पेस गर्दछ ।”

सन् २००७ मा शिल्पा र रिचार्ड दुवैजना राजस्थानमा आयोजित एउटा प्रमोसनल कार्यक्रममा पुगेका थिए । सोही कार्यक्रमका क्रममा स्टेजमा हुँदै रिचर्डले शिल्पाको अनुमतिविना उनलाई समाएर गालामा चुम्बन गरेका थिए ।

उक्त घटना यति विवादास्पद बन्यो । उनीहरू दुवैविरुद्ध राजस्थान र उत्तर प्रदेशमा तीनवटा मुद्दा दर्ता भयो । शिल्पा र रिचर्डमाथि ‘अश्लीलता र अभद्रता’ को आरोप लागेको थियो ।

रिपोर्टअनुसार शिल्पाविरुद्ध भारतीय दण्ड संहिताको धारा २९२ (अश्लील पुस्तकको बिक्री), २९३ (अश्लील वस्तुको बिक्री) र २९४ (अश्लील कार्य र गीत) अन्तर्गत मुद्दा दायर गरिएको थियो ।

उनीमाथि सूचना प्रविधि ऐन र महिलाको अशोभनीय प्रतिनिधित्व (निषेध) ऐनको सम्बन्धित धारामा पनि मुद्दा लगाइएको थियो ।

प्रकाशित मितिः बुधबार, माघ १२, २०७८     4:20:26 PM  |