13 June 2024  |   शुक्रबार, असार १, २०८१

कोहलपुरको कार्यपालिका बैठकः २६ जनाले एउटै बैठकमा खान्छन् १५ हजार बढीको खाजा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १२, २०७८  

एकपटकको कार्यपालिका बैठकको खाजा खर्च सरदर १७ हजार रुपैयाँ मात्र मान्दा एकजनाले ६ सय ५४ रुपैयाँको खाजा खाने गरेको देखिन्छ । कोहलपुर नगरपालिका वडा नम्बर– ११ का अध्यक्ष कर्णबहादुर थापाले खाजा खर्चको नाममा मात्र त्यती धेरै खर्च नहुनुपर्ने बताए ।

कोहलपुर ।

कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकमा खाजा खर्च अस्वाभाविक देखिएको छ । कार्यपालिका बैठकमा २६ जनाले मात्र सहभागिता हुने भएता पनि खाजा खर्च भने अस्वाभाविक देखिएको हो ।

प्रत्येक बैठकमा खाजा खर्चको नाममा १५ हजारदेखि २० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले प्रत्येक बैठकको खाजा खर्चको बिल १५ हजारभन्दा बढीको आउने जानकारी दिए ।

‘बिल आउने क्रममा नै छ, कार्यपालिका बैठकमा खाजा खर्चबापत १५/२० हजार रुपैयाँसम्म खर्च हुन्छ,’ उनले भने, ‘कहिलेकाहिँ सामान्य तलमाथि होला नत्र बैठक बसेको बेला खाएको खाजा खर्चको बिल त्यति नै आउँछ ।’ कार्यपालिकाको बैठकसँगै अन्य बैठक पनि हुने भएकाले यसरी खाजा खर्च धेरै आउने गरेको उनको भनाइ छ ।

एकपटकको कार्यपालिका बैठकको खाजा खर्च सरदर १७ हजार रुपैयाँ मात्र मान्दा एकजनाले ६ सय ५४ रुपैयाँको खाजा खाने गरेको देखिन्छ । कोहलपुर नगरपालिका वडा नम्बर– ११ का अध्यक्ष कर्णबहादुर थापाले खाजा खर्चको नाममा मात्र त्यती धेरै खर्च नहुनुपर्ने बताए ।

‘हामीले त बैठकमा कहिलेकाँही उसिनेको मकै त कहिलेकाँही मम खान्छौं’ उनले भने, ‘कहिलेकाँही त चिया बिस्कुटमा खाएर पनि बैठक सकिन्छ । शाकाहारी साथीहरुले त दुई कोसा केरा र एउटा स्याउ खानुहुन्छ ।’

चालू आर्थिक वर्षमा मात्र पाँच पटक कार्यपालिकाको बैठक बसेको छ । कार्यपालिका सदस्यहरुले बैठक भत्ता नलिएपनि २६ जनाले सामान्य खाजा खाएकै १५/२० हजार रकम खर्च हुन थालेपछि अनियमितताको आशंका गरिएको छ ।

‘हामीले अहिलेसम्म बैठकमा मंहगो खाजा खाएको त मलाई याद छैन’ एक कार्यपालिका सदस्यले मिसन टुडेसँग भने, ‘कि बैठकको नाममा कार्यालयका कर्मचारीहरु सबैले खाजा खानुप¥यो । नत्र मिलोमतोमै राम्रो नै बेइच्जत हुनेगरी काम भयो ।’

 

प्रकाशित मितिः बुधबार, माघ १२, २०७८     10:31:32 AM  |