19 June 2024  |   बिहिबार, असार ७, २०८१

बाँकेमा कोभिड–१९ नियन्त्रण: प्रशासन–स्थानीय तहबीच समन्वय अभाव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १२, २०७८  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको पहिलो र दोस्रो चरणमा बाँके हटस्पट बन्यो । सयौँ नागरिकले कोरोना भाइरसका कारण अकालमा ज्यान गुमाए । नेपालमा कोरोनाका कारण ज्यान गुमाउने दोस्रो व्यक्ति बाँकेकै हुन् ।

फेरि, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै जाँदा बाँकेमा पनि संक्रमणदर उच्च बनिरहेको छ । बाँकेमा दैनिक सयौँको संख्यामा कोरोना संक्रमित थपिरहेका छन् । बिहीबार बाँकेमा एक सय सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका मात्रै ७८ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

बुधबार मात्रै बाँकेमा कूल एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये ७७ जना त बाँकेका मात्रै थिए । तीमध्ये अधिकांश संक्रमित नेपालगन्ज, कोहलपुर र खजुराका रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १८ हजार नौ सय २९ पुगेको छ ।

सिंगो जिल्ला कोरोना संक्रमणको हटस्पट उन्मुख भइरहँदा भने यहाँका स्थानीय सरकार गम्भीर देखिएका छैनन् । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएकोले सतर्कता बढाउन निर्देशन जारी गर्दासमेत स्थानीय सरकारले वास्तै गरेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पुस २७ गते जिल्लामा २५ जनाभन्दा बढी भेला नहुन भन्दै निर्देशन जारी गरेका थिए । उक्त निर्णयको ठाडो उल्लंघन जिल्ला प्रहरी कार्यालयले नै ग¥यो । एसपी श्यामकृष्ण अधिकारीको उपस्थितिमा अर्धवार्षिक उपलब्धि सार्वजनिक गर्न जब्बो मानिसको हुल बाँधेर पत्रकार सम्मेलन गरे ।

खजुरा गाउँपालिकाले पुस २९ गते गाउँसभा गरेको थियो । पहिलादेखि नै सबैभन्दा बढी कोरोना संक्रमणबाट प्र्रभावित भइरहेको नेपालगन्ज उपमहानगरपालिकाले माघ २ गते नगरसभा आयोजना गरेर स्थानीय प्रशासनको आदेशको अवज्ञा गरिदियो । नेपालगन्जमा अहिले पनि कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ ।

दैनिक दर्जनौँको संख्यामा कोरोना संक्रमित थपिरहेका छन् । नगर स्वास्थ्य प्रमुख रामबहादुर चन्द भने नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको तयारी भइरहेको बताउँछन् । उनका अनुसार नेपालगन्जमा आइसोलेसन निर्माण भइरहेको छ । नगरका हरेक भीडभाड हुने क्षेत्रमा अनिवार्य स्वास्थ्य मापदण्ड अपनाइएको छ ।

उनले भनेको जस्तो नेपालगन्जमा कोरोना संक्रमणबाट बच्न मापदण्ड अपनाइएको देखिँदैन । यस्तै उनले कोरोना संक्रमण जाँचलाई समेत तिव्रता दिइएको बताए । अहिले नेपालगन्जमा यो समाचार तयार पार्दासम्म चार सय सातजना सक्रिय संक्रमित छन् । १५ जनाको बालमन्दिर आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा उपचार गराइरहेका छन् । यस्तै कोहलपुर नगरपालिकामा पनि दैनिकजसो कोरोना संक्रमण बढ्दै गइरहेको छ ।

नरैनापुर गाउँपालिका त कर्मचारीलाई कोरोना संक्रमित भए पनि केही दिनयता बन्द अवस्थामा छ । राप्तीसोनारी गाउँपालिकाले मेलानै सञ्चालन ग¥यो । बाँकेका स्थानीय तहले कोरोना संक्रमणको पहिलो र दोस्रो चरणमा निकै रकम खर्च गरेका थिए । योपटक भने कोरोना रोकथाम तथा नियन्त्रणको लागि अन्तरपालिका समन्वय पनि देखिएको छैन ।

यता, कोभिड १० संकट व्यवस्थापन केन्द्रले भने सबै पालिकामा एनटिजेन परीक्षण गरिरहेको बताएको छ । हाल जिल्लाका तीनवटा पीसीआर प्रयोगशालामा कोरोना परीक्षण भइरहेको छ । कोरोना भाइरसको जोखिम कम गर्न स्थानीय प्रशासन र स्थानीय तहको समन्वयकारी भूमिका देखिँदैन । उनीहरु बीच समन्वय र आवश्यक छलफल भएको देखिँदैन ।

सामान्य ढंगले समन्वय भए पनि पर्याप्त समन्वय हुन सकेको छैन । यता यस्तो संकटका बेला अन्तरपालिकाबीच पनि समन्वय हुनुपर्ने जरुरी थियो । तर समन्वय छैन । उनीहरु आआफ्नै ढंगले काम गरिरहेका छन् ।

संक्रमण समुदायस्तरमा फैलिसक्यो
तेज ओली

बाँके पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट प्रभावित बन्यो । दोस्रो लहरमा सबैभन्दा बढी मानवीय क्षति नै व्यहोर्नु प¥यो । अहिले पनि नयाँ भेरियन्टको संक्रमण फैलिसकेको छ । विगत एक महिनाको अवधिलाई हेर्ने हो भने संक्रमण समुदायस्तरमा फैलिसकेको छ ।

यसपटकको संक्रमण पहिलाको भन्दा कडा छ । एक व्यक्तिमा कोरोना सक्रमण भयो भने १०–१५ जनालाई सार्न सक्छ । तर यो गम्भीर छैन । संक्रमितमा अक्सिजनको आवश्यकता परेको छैन । उपचारको लागि अस्पताल लैजानुपर्ने र गम्भीर अवस्था देखिएको छैन ।

यसले दीर्घरोगी, बृद्धबृद्धा तथा बालबालिकाहरुलाई बढी असर गर्ने देखिन्छ । स्वास्थ्यको ख्याल गर्न म अनुरोध गर्न चाहन्छँु । सबैले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्नुपर्ने देखिन्छ । धेरैमा सामान्य समस्या आउँदा चेक गर्ने गरेको देखिँदैन । पछिल्लो समयको अवस्थालाई मध्यनजर गरेर सम्बन्धित पालिकामै एनटिजेन परीक्षणको व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः बुधबार, माघ १२, २०७८     10:24:37 AM  |